Friday, April 17सत्यम खबर
Shadow

फ़ेरि बन्द रसुवा नाका

काठमाण्डौ, १० माघ – चिनियाँ नयाँ वर्षका कारण रसुवागढी नाकाबाट सामान आयात नहुने भएको छ । शुक्रबार बिहानदेखि नै रसुवागढी नाकाबाट व्यापारीका सामान आयात भएको छैन ।
शुक्रबार बिहानदेखि नाकाबाट सामान आयात नभएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । ‘नयाँ वर्षका कारण १५ दिनसम्म सामान आयात नहुने अनौपचारिक जानकारी आएको छ,’ उनले भने ।
आगामी फेब्रुअरी ३ सम्म नाकाबाट सामान आयात नहुने जानकारी आएको उनले बताए । यस नाकाबाट हुने आयात पनि न्यून मात्रामा छ । अहिले नाकाबाट दैनिक चाइनीज १४ कन्टेनर मात्र सामान आयात भइरहेकोमा हालका लागि रोकिएको हो ।
यसअघि बिहान ७ र बेलुका ७ गरी दैनिक १४ कन्टेनर मात्र सामान आयात भइरहेको थियो। बिहीबारदेखि नै केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छोडिसकेको रसुवाका व्यवसायी धर्म पौडेलले बताए ।

चिनियाँ नयाँ वर्षका कारण हरेक वर्ष यसै समयमा केरुङमा रहेका सरकारी कार्यालयहरु नै बन्द हुने गर्छन् । सरकारी कार्यालय नै बन्द भएपछि सामान आयात रोकिएको उनले जानकारी दिए । नेपाली सामान चीनतर्फ निर्यात हुन थालेको पनि एक महिना भएको छ । तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको हो । निर्यात खुलेको एक महिनामा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ ।

रसुवागढी नाकाबाट अहिलेसम्म करिब ६ करोड मूल्य बराबरको ३९ कन्टेनर सामान चीनतर्फ निर्यात भएको छ । सामान आयत निर्यात भए पनि मानिसको आवतजावत हुन सकेको छैन । यस नाकाबाट (कोभिड–१९) अगाडिको अवस्थामा व्यापारीका सामान सहज रुपमा आउन अझै सकेको छैन । रसुवागढी नाकाबाट आयात–निर्यात प्रभावित भएको तीन वर्ष पूरा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *