Thursday, April 16सत्यम खबर
Shadow

पाकिस्तानले नेपाललाई ठगीकाे अड्डा बनाउदै

काठमाण्डौ, १० माघ – पाकिस्तानी नागरिक मोहम्मद सामी खान क्यानाडा जाने तयारीमा थिए। उनले आवश्यक कागजात पनि तयार गर्दै थिए। चिनेकै साथीमार्फत मुहम्मद रासिदको समूहसँग छलफल गरे। रासिदको समूहले खानलाई नेपालबाट क्यानाडा भिसा प्रक्रिया सजिलो छ भन्दै प्रलोभनमा पारे। सबै प्रक्रिया काठमाडौबाट पुरा हुन्छ भन्दै उनीहरुले आश्वासन दिए। नेपालको भिजिट भिसामा सामीलाई काठमाडौं पठाए। नेपालबाट क्यानाडा भिसा लगाउन सजिलो भनेर खुसी हुँदै आएका उनी काठमाडौं आएपछि समस्यामा परे।

क्यानाडा जान भन्दै नेपाल आएका उनले २५ लाख ६६ हजार ६९७ रुपैयाँ गुमाए। योसँगै एजेन्टको समूहले उनलाई अपहरण गरी होटलमा थुनेर पैसा लिएपछि सिनामंगलको बाटोमा ल्याएर छाडिदिए।

उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार मोहम्मद सामी खानलाई अपहरण गरी फिरौती लिने तथा शरीर बन्धक बनाउने कसुरमा ३ जना पाकिस्तानी नागरिक प्रक्राउ परेका छन्। प्रक्राउ पर्नेमा पाकिस्तान कसुरका ३० वर्षीय मुहम्मद रासिद, पाकिस्तान लाहोरका ३५ वर्षीय मुहम्मद आसिफ, पाकिस्तान पाक्पातनका ३५ वर्षीय मुहम्मद फिदा हुसैन छन्।

कोइराला भन्छन्, ‘सामी खानलाई ठगी गर्नकै लागी उनीहरुले नेपाल पठाएका थिए। नेपालबाट भिसा प्रक्रिया छिटो र सजिलो छ भन्दै झुक्काएर उनलाई काठमाडौं बोलाई अपहरण गरेका हुन्।’

गत पुस २४ गते सामीलाई बायोमेट्रिक लगायतको प्रक्रिया भन्दै अपहरणकारीको समूहले ठमेलको होटलबाट ट्याक्सीमा राखेर बुढानिलकण्ठस्थित एक भाडाको घरमा पुराएर बन्धक बनाएको कोइरालाले बताए। आँखामा पट्टि लगाएर, हातखुट्टा बाँधेर, पीडितका भाइलाई फोन गरी पैसा माग गर्दै म्यासेज गरेको पाइएको उनले जानकारी दिए।

एजेन्डहरूले घरमा फोन र म्यासेज गरी क्यानाडाको फ्लाइट छ, फोन अफ हुन्छ पुगेपछि फोन गर्छु भन्ने सन्देश दिएको पनि कोइरालाले बताए।

घरमा म्यासेज पठाएपछि अपहरणकारीले पीडितलाई बन्धक नै बनाएर राखेका थिए। कुटपिट गर्दै ३० घण्टा बन्धन बनाएका उनीहरूले फेरि घरमा क्यानाडा पुगेको सन्देश पठाउन लगाएर इमिग्रेसनले रोकेको खबर पठाउन लगाएका थिए। क्यानाडा पुगेको भन्ने खबरपछि पीडितको भाइले ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार दिराम पठाएका थिए। पैसा प्राप्त गरेपछि अपहरणकारीले उनलाई ट्याक्सीमा राखी पाकिस्तान फकर्नु भन्दै सिनामंगल सडकमा छाडेर फरारको कोइरालाले बताए।

पीडितले पर्यटक प्रहरीमा दिएको निवेदनमा अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर काठमाडौंको टोलीले खोजतलास गरि आरोपी प्रक्राउ गरेको छ। गत पुस २८ गते उनीहरु बुढानिलकण्ठस्थित भाडाको घरबाटै प्रक्राउ परेका हुन्। प्रहरी परिसर काठमाडौंका प्रबक्ता दिनेशराज मैनालीका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका व्यक्तिलाई अपहरण, शरीर बन्धक कसुरमा जिल्ल अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको मैनालीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *