
नेपालगन्ज, १० माघ – बाँकेको नेपालगन्जमा हुन लागेको महोत्सवको उद्धघाटन आज हुँदैछ । आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा आज माघ १० गते ‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन साँस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ महोत्सव विधिवत रुपमा उद्घाटन हुँदैछ ।
आज नेपालगन्जको धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भब्य साँस्कृतिक झाँकी र्याली प्रर्दशनसहित महोत्सवमा परिणत हुने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक भागवतप्रसाद कंडेलले बताए । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)को प्रमुख आतिथ्यतामा हुनेछ ।
आजदेखि माघ २४ गतेसम्म नेपालगन्ज-१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा प्रादेशिक स्तरीय ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ हुँदैछ ।
महोत्सवमा साधारण प्रवेश शुल्क ६० रुपैँया र विद्यार्थीलाई ५० रुपैयाँ निर्धारण गरिएको छ । उद्धघाटनका दिन भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
