Tuesday, April 14सत्यम खबर
Shadow

‘डस्टी कार्गो’ आयात र यात्रु शाखा सञ्चालन गरिँदै

काठमाण्डौ, १८ पौष – भारतीय पक्षको चर्को दबाबपछि आइतबारदेखि वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी नाकाबाट डस्टी कार्गोुको आयात र यात्रु शाखा पनि सञ्चालनमा आउँदैछ । यसका लागि चौकी सञ्चालक इन्टर मोडल यातायात विकास समितिले द्रूत गतिमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनको काम गरिरहेको छ ।

समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीले भारतीय पक्षले जनवरी १ देखि आईसीपी नाकाबाटै डस्टी कार्गो र तेश्रो मुलुकका पर्यटक पनि पठाउने घोषणा गरेपछि त्यसका लागि चौकीमा आवश्यक तयारी गरिएको बताए । ‘हाललाई चौकीको पूर्वदक्षिण कुनामा रहेको १० नम्बर लेनबाट डस्टी कार्गो ल्याइने छ,’ उनले भने, ‘त्यसैगरी भारत हुँदै नेपाल आउने तेश्रो मुलुकका पर्यटकका लागि यात्रु शाखा सञ्चालन गर्न ६ नम्बर लेनको प्रयोग गरिने भएको छ ।’

दुबै लेनमा पार्किङ गरिएका भारत तथा तेश्रो मुलुकबाट आयातित नयाँ सवारी साधन हटाउने काम शुक्रबार नै सम्पन्न भएको उनले बताए । ‘६ नम्बर लेनबाट १ सय ६५ वटा र १० नम्बर लेनबाट ६७ वटा गाडी हटाएर बाटो क्लियर गरेका छौं,’ उनले भने, ‘हाललाई डस्टी कार्गो मालबाहक सवारी साधनमा ल्याएर चौकी परिसरमा अनलोड नगरी सोझै भन्सारबाट जाँचपास गरी आयातकर्तालाई लग्ने सुविधा दिइने छ ।’

तेश्रो मुलुकका पर्यटकको लागि सञ्चालन गर्न लागिएको यात्रु शाखाका लागि अध्यागमन र पर्यटक प्रहरी समेत बिहीबार सम्पर्कमा आइसकेको ज्ञवाली बताउँछन् । सुरुमा तेश्रो मुलुकका पर्यटकको आगमन यो नाकाबाट गराएपछि भारतीय यात्रुलाई समेत यसै नाकाबाट आवागमन गराउने योजना छ ।

हाल वीरगन्ज–रक्सौल पुरानो नाकाबाट भारतीय तथा तेश्रो मुलुकका पर्यटकको लागि यात्रु शाखा सञ्चालनमा रहेको छ । सोही नाकामा अध्यागमन र पर्यटन प्रहरी कार्यालय पनि रहेको छ । त्यसैगरी, हालसम्म भारतबाट आयात हुने सिमेन्ट क्लिंकर, कोइला, जिप्सम, स्ल्याग आदिसमेत सोही नाकाबाट आयात हुने गरेको छ ।

भारत सरकारको बिहार राज्यको राजधानी पटनास्थित प्रिन्सिपल कमिश्नरको कार्यालयका प्रिन्सिपल कमिश्नर प्रदीप कुमार कटियारले ३ महिना अघि नै सार्वजनिक सूचना जारी गरी वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सौलबाट बौद्धीमाई मन्दिर हुँदै भारतीय आईसीपी सम्म आउने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकाले रक्सौलबाट निर्यात हुदै आएको डस्टी कार्गो पनि असोज ३० देखि आईसीपीबाट मात्रै गर्न आदेश दिई सकेका थिए ।

तर नेपाली आयातकर्ताहरुको लबिङ र भारतमा रक्सौल रेल्वे स्टेशनदेखि भारतीय आईसीपी रोडसम्म आउने बाटो साँघुरो भएको बताउँदै हालसम्म यो आदेश कार्यान्वयन हुन सकेको थिएन । हाल भारतीय पक्षले भने नेपाल र भारत दुबैतर्फको एकीकृत सुरक्षा जाँच चौकीबाटै डस्टी कार्गो र तेश्रो मुलुकका पर्यटकका लागि यात्रु शाखा सञ्चालन गर्न चर्को दबाब दिएपछि नेपाली पक्ष यसका लागि सहमत भएको हो ।

भारतीय पक्षले ३ महिना अघिदेखि तयारी थालेपछि नेपालको वाणिज्य,गृह र परराष्ट्र मन्त्रालय तथा वाणिज्य विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन भई कार्यदलले आईसीपी वीरगन्जको स्थलगत निरीक्षण गरी आवश्यक गृहकार्य गरेको थियो ।

हाल डस्टी कार्गो भित्र्याउन प्रयोग गरिने १० नम्बर लेनलाई थप सुविधा सम्पन्न बनाउन होल्डिङ यार्ड तयार गर्न लागिएको र त्यसका लागि टेण्डरसमेत आह्वान भइसकेको ज्ञवाली बताउँछन् । होल्डिङ यार्ड भएपछि डस्टी कार्गो बोकेका मालवाहक सवारी साधन यार्डमा रोकिने, मालवस्तु त्यहीँ अनलोड गरेर फर्किने सम्मको सुविधा उपलब्ध हुनेछ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले भारतीय पक्षले आईसीपी नाकाबाटै डस्टी कार्गो पठाउने र यात्रु शाखा पनि सञ्चालन गर्ने बताएपछि नेपालतर्फ पनि आईसीपीमा त्यसका लागि आवश्यक तयारी पूरा भइसकेकोे बताए । ‘सामान्यतया विश्वव्यापी स्तरमै आईसीपीबाटै आयात निर्यात, यात्रु शाखा, क्वारेन्टाइन जस्ता सुविधा उपलब्ध गराइन्छ, हामीले पनि त्यसको अभ्यास गर्न थालेका हौं,’ उनले भने, ‘एक पटक यी सेवा सञ्चालनमा आएपछि बिस्तारै त्यसका कमी कमजोरीहरु हटाउँदै सञ्चालन गर्न सहज हुन्छ ।’

भारततर्फ रक्सौलमा हाल पनि रेल्वे स्टेसनदेखि आईसीपी सडकसम्मको सम्पर्क सडक साँघुरो र अति भिडभाडयुक्त रहे पनि त्यो भारतीय पक्षको समस्या रहेको उनले बताए ।

हाल अधिग्रहणको प्रक्रियामा रहेको वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी र सिर्सिया सुक्खा बन्दरगाह बीचको ६२ बिघा जग्गा अधिग्रहण भएर गाभिसकेपछि पर्याप्त जग्गा उपलब्ध भएर डस्टी कार्गो आयात र अनलोडको काम पनि सहज हुने उनले बताए । सुक्खा बन्दरगाहमा पनि रेलबाट सोझै डस्टी कार्गो आयातको तयारी भएको आफूले सुने पनि हाललाई आईसीपी नाकाबाटै आयात गर्ने नेपाली र भारतीय पक्षको सहमति भएकाले त्यसै अनुरुप गर्न लागिएको उनले बताए ।

किन दबाब दिँदैछ भारत ?

भारतले आईसीपी नाकाबाटै डस्टी कार्गो निर्यात र यात्रु शाखा सञ्चालन गर्न चर्को दबाब दिनुको पछाडि यो नाका हुँदै आवागमन गर्ने भारत विरोधी तथा आतंकवादी गतिविधिमा संलग्नहरुको नेपाल भएर हुने गरेको निर्वाध आवागमन रोक्न तथा चोरी तस्करी नियन्त्रण गर्न प्रमुख कारण हुन सक्ने श्रोत बताउँछ ।

‘पछिल्लो केही वर्षयता वीरगन्ज नाका भएर भारत विरोधी राष्ट्र तथा विभिन्न आतंकवादी संगठनमा आबद्ध थुप्रै व्यक्तिहरु भारत जाने गरेको घटना सार्वजनिक भयो, अर्कोतिर यो खुल्ला सिमानाको कारण हुने गरेको तस्करी तथा अन्य अपराधहरुको कारण पनि भारतले समस्या भोगिरहेको छ,’ नाम उल्लेख गर्न नचाहेका सशस्त्र प्रहरीका एक अधिकृतले भने, ‘त्यस कारण पनि भारत यो नाकालाई सक्दो नियन्त्रण र कडाई गर्न चाहिरहेको छ, दुबै मुलुकका आईसीपीबाट तेश्रो मुलुकका पर्यटकको आवागमन भए व्यक्तिगत रुपमै सबै तेश्रो मुलुकका पर्यटक वा व्यक्तिको निगरानी गर्न सहज हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *