Saturday, April 25सत्यम खबर
Shadow

स्वर्ण जयन्ती मनाउँदै जनता

नेपालगन्ज, २९ मंसिर – बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको जनता नमुना माध्यमिक विद्यालयले ५० औं जन्मजयन्ती वार्षिक उत्सव (स्वर्ण जयन्ती) मनाउने भएको छ । २०२९ सालमा स्थापना भएको जनता माविले माघ २६ गते विद्यालयको प्राङ्गणमा महोत्सवका रुपमा स्वर्ण जयन्ती मनाउन लागेको हो ।
विद्यालयले बिहीबार एक भेलाको आयोजना गरी २५१ जनाको मूल समारोह समिति निर्माण समेत गरेको विद्यालयका प्रध्यानाध्यापक महेन्द्र खत्रीले जानकारी दिनुभयो । मूल समारोह समितिसँगैं विभिन्न उप समितिहरु समेत गठन गरिएको प्रध्यानाध्यापक खत्रीले बताउनुभयो । विद्यालयले सप्ताव्यापी रुपमा स्वर्ण जयन्ती मनाउने गरी पूर्व तयारीका कामहरु सुरुवात गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयर सिंह थापाले जानकारी दिनुभयो । छलफलमा सहभागीहरुले जनता नमुना मावि बाँके जिल्ला मै एक चर्चित विद्यालय रहेकाले स्वर्ण जयन्तीलाई भव्य बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
स्वर्ण जयन्तीमा विभिन्न खेलकुदका प्रतियोगिता, कला संस्कृति प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, पालिका स्तरीय खेलकुद प्रतियोगिता, स्वास्थ्य शिविर, विद्यार्थीद्वारा तयार गरिएको फुड फेस्टिबल, कृषिसँग सम्बन्धित प्रदर्शनी, छलफललगायतका कार्य गरिने विद्यालयका शिक्षक टंकनाथ दाहालले जानकारी दिनुभयो । भेलामा पूर्व विद्यार्थीहरु, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी, राजनीतिज्ञलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै सप्ताव्यापी रुपमा मनाउन थालिएको स्वर्ण जयन्तीका अवसरमा आर्थिक रुपमा सहयोग गर्न विद्यालयले आग्रह गरेको छ । विद्यालय स्रोतका अनुसार ५ हजार रुपैयाँ भन्दा बढी सहयोग गर्ने दातालाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ भने गाउँठाउँको विद्यालयले मनाउन थालेको स्वर्णजयन्तीमा सक्दो सहयोग गर्न आग्रह गरिएको छ ।
पूर्व विद्यार्थी समाजले विद्यालय स्तरमा स्वर्ण स्तम्भ बनाउने जिम्मेवारीलिएको छ भने समाजसेवी केही व्यक्तित्वले विद्यालयलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको शिक्षक दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *