
काठमाण्डौ, २७ मंसिर – करिब साढे दुई बर्षपछि भारतीय र चिनियाँ सैनिकबीच फेरि भिडन्त भएको छ। चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशस्थित पहाडी इलाकामा हालै दुई देशका सेनाबीच भिडन्त भएको छ ।
भारत—चीन विवादित सीमा क्षेत्रस्थित ‘लाइन अफ एक्चुअल कन्ट्रोल’मै उनीहरुबीच तनाव भएको हो। अरुणाचल भारत र चीनको विवादित भूभाग हो, जुन अहिले भारतको कब्जामा छ। भारतीय समाचार संस्था पीटीआईका अनुसार ९ तारिख (शुक्रबार) भिडन्त भएको थियो।
लद्दाखमा सन् २०२० अगस्टमा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त भएको थियो। त्यसपछि पहिलोपटक फेरि उनीहरुबीच भौतिक झडप भएको हो।त्यही वर्ष मे महिनामा उनीहरुबीच लद्दाखमा झडप हुँदा २० भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको थियो।
त्यसयता एसियाका यी दुई छिमेकीबीच चिसिएको सम्बन्धमा सुधार आउन सकेको छैन। सैनिक र कुटनीतिक तहमा पटक—पटक वार्ता भए पनि सम्बन्ध पूर्ववत् अवस्थामा फर्किन सकेको छैन।
चीन र भारतका सैनिक बेलाबखत आमनेसामने हुने गरेका छन्। पछिल्लोपटक अक्टोबर २०२१ मा तवाङ्देखि ३५ किलोमिटर उत्तरपूर्वको याङ्सेमा चिनियाँ र भारतीय सैनिक आमनेसामने भएका थिए।चिनियाँ सैनिक १७ हजार फिटमाथिको पहाडमा उक्लिने प्रयास गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्। यद्यपि अहिले उक्त क्षेत्र हिउँले ढाकेको छ। Enews9post
