
काठमाण्डौ, ३० कार्तिक – चीनले पुनः एक पटक नेकपा एमाले र माओवादी केन्द्र मिलाउने कसरत सुरू गरेकाे छ । उच्च स्राेतका अनुसार चीनको सँस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिलाउने उद्देश्य बाेकी नेपाल आउन लागेका छन् ।
स्राेतले भन्याे,’चीनले एमाले, माओवादी केन्द्र र एमालेबाट फुटेकाे नेकपा (एकीकृत समाजवादी) लाई मिलाउन भित्राभित्रै अथक प्रयास गरिरहेकाे छ।’
तेस्राे कार्यकालका लागि चिनियाँ राष्ट्रपतिमा सी चिङपिङ पुन: नियुक्त भएपछि उनले नेपालमा आफ्नो पहिलो दूत पठाउन लागेको हुन् । चिनियाँ राष्ट्रपति सीले नेपालमा कम्युनिष्ट सरकार हाे भन्ने हेतुले बेला बेला यहाँकाे आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आइरहेका छन् ।
कम्युनिष्ट शक्तिहरु मिलेर जानुको विकल्प नरहेकाे बारे थप स्पष्ट पार्न चिनियाँ राष्ट्रपतिमा सीले आफ्ना दूत पर्यटन उपमन्त्री लीलाई पठाउन लागेकाे स्राेतकाे दाबी छ ।
स्राेतले भन्याे,’पर्यटन उपमन्त्री ली पुनःनिर्माण भएका सम्पदाहरूको अवलकोन गर्ने बहानामा नेपालकाे आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने याेजनाका साथ नेपाल आउन लागेका हुन्। उनी नेपाल आएर गाेप्य रूपमा प्रचण्ड, ओली र माधव नेपाललाई भेट्ने छन् । जसकाे चाँजाेपाँचाे काठमाडाैंस्थित रहेकाे चिनियाँ दूतावासले आफ्ना एजेण्टहरूमार्फत मिलाइसकेकाे छ।’
पर्यटन उपमन्त्री लीले ओली, प्रचण्ड र माधवलाई मिल्न दबाब याेजना बाेकी नेपाल आउन लागेकाे स्राेतकाे दाबी छ । साेही क्रममा निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ पर्यटन उपमन्त्री नेपाल आउन लागेपछि उनकाे भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठका स्वकीय सचिव भीमसेन राजबहाकले चिनियाँ उपमन्त्रीको नेपाल भ्रमणबारे पुष्टि गरे। उनले भने,’भोलि उहाँ (ली छ्युन) नेपाल आउन लाग्नुभएको हो। उहाँले चिनियाँ लगानीमा बनेका सम्पदाहरूको अवलोकन गर्नुहुनेछ। उहाँलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रमसमेत रहेको छ।’
नेकपा विभाजन भएपछि २०७७ मंसिरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना विशेष दूत चिनियाँ रक्षामन्त्री वेई फेङहेलाई काठमाडौं पठाएका थिए। सो समयमा रक्षामन्त्री फेङहेले समेत कम्युनिष्ट शक्तिहरु मिलेर जानुको विकल्प नभएको भन्दै ओली र प्रचण्डलाई मिल्न दबाब दिएका थिए।
फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडेर नेकपा बनाउन चीनले उच्चस्तरीय टोली गत पौषमा पनि नेपाल पठाएको थियो। राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आएका थिए। नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका निरर्थकसरह भएको थियो।
त्यस्तै ओली–प्रचण्ड मिलाउन भ्रमणकाे नाममा २०७८ चैत्रमा नेपाल आएर फर्किएका थिए । त्यसपछि पनि नेपालमा कम्युनिष्ट पार्टीहरुलाई मिलाउन थप दुई वटा उच्च स्तरिय चिनियाँ नेताहरूकाे भ्रमण भएकाे थियाे । चीन कुनै हिसाबले पनि कम्युनिष्ट पार्टी विभाजन नहुन् भन्ने चाहन्छ। जसकाे लागि चीनले हरेक काेणबाट प्रयास गरिरहेकाे छ ।
