
नेपालगन्ज, २० कार्तिक – कुनै बेला लाराका नामले चर्चित नेपालगन्जका क्रिकेटर अरूण थापा जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहको कार्यकालमा नेपालगन्जको उपमेयर भइसकेका थापा आज औपचारिक रूपमा जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए ।
थापासहित विभिन्न पार्टी परित्याग गरेर आएका युवाहरूलाई आज जनता समाजवादी पार्टीका नेता एवम् प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले स्वागत गरेका थिए । सो अवसरमा राईले नेपालगन्जको विकासप्रति लगाव राख्ने युवाहरू जनता समाजवादी पार्टीप्रति आकर्षित भएको बताएका थिए ।
नेपालगन्जमा क्रिकेट खेलको विकासमा थापाले पुर्याएको योगदानको प्रशंसा गर्दै राईले आफूले खेलकुद क्षेत्रलाई व्यवसायीक बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
