Sunday, April 19सत्यम खबर
Shadow

एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलो पटक विश्व म्याराथनको सुचिमा

नेपालगन्ज, १८ कार्तिक – आठ बर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथन बिहिवारदेखि विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टर नेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)को अफिसियल क्यालेन्डरमा समावेश गरिएको छ ।
एम्सले बिहिवार सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्ने क्रममा डिसेम्बर १० तारिख शनिबारका दिन हुने म्याराथनको सुचिमा नेपालगन्ज म्याराथनलाई एम्सको वेभसाइट (https://aims-worldrunning.org/calendar.html) मा सम्बोधन गरेको हो । यसले संसारभरका धावक एवं पर्यटकलाई नेपाल आउने ढोका खोलि दिएको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए ।
‘विश्वका धावक तथा पर्यटकको चासो रहने एम्सको क्यालेन्डरमा पहिलो पटक नेपालगन्ज, लुम्बिी र नेपाल शब्द देख्दा निकै खुशी लागेको छ ।’ अध्यक्ष ठकुरीले भने–‘सायद देश प्रेम भनेको यही रहेछ, विश्व समुदाय माझ नेपाल देशलाई चिनाउन पाउँदा एक नागरिकको जिम्मेवारी पुरा गरेको अनुभुति भएको छ ।’
एम्सले आफ्नो क्यालेन्डरमा नेपालगन्ज म्याराथनको सम्पर्क सम्बन्धमा सहज हुने गरी रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङको नाम उल्लेख गर्दै वेभसाइट (www.nepalgunjmarathon.com) सहित जानकारी उपलब्ध गराइ दिएको छ । एम्सको हेडक्वार्टर ग्रीसको एथेन्समा रहेको छ । म्याराथनको सुरुवात पनि ग्रीसबाट सुरु भएको थियो ।
एम्सको क्यालेन्डर तथा डाइरेक्टरीमा समाविष्ट भएसँगै नेपाल पहिलो पल्ट सदस्य राष्ट्रका रुपमा विश्व समुदाय माझ देखिएको छ । एम्स संसार भरिका म्याराथन आयोजकहरुको साझा संस्था हो । गत साता मात्र नेपालगन्ज म्याराथनलाई एम्सले सदस्यता प्रदान गरेको थियो । त्यसअघि नेपालगन्ज म्याराथनले एम्सका आधिकारिक कोर्ष मेजरर आमिर सान्डिवानद्वारा चार बिभिन्न विधाहरु ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी दुरीको रुट प्रमाणीकरण गराएको थियो ।
केएल दुगड ग्रुपको धारा तेलले मुख्य प्रायोजन गरेको आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिवार हुँदैछ । दश बर्षे द्धन्द्धलाई औपचारिक बिट मार्दै विद्रोही र राज्यबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथनले २०७२ सालदेखि यात्रा आरम्भ गरेको हो । हरेक मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको आठौं धारा नेपालगन्ज म्याराथन यस बर्ष आम निर्वाचनका कारण मंसिर २४ गते सारिएको हो । आठौं धारा नेपालगन्ज म्याराथनमा धारा तेलसँगै होटल सोल्टी वेष्टेन्ड प्रिमियर, शिखर प्लाई, दराज, बडवाइजर बियर, नेपाली पात्रो, हाम्रो खेलकुद डट कम, दैनिक नेपालगन्ज नेपालगन्ज ग्यालेरी, कोहलपुर ग्यालरी लगायतसले सहकार्य गर्दैछन् । धेरैभन्दा धेरै कर्पोरेट हाउसलगायत संघ संस्थालाई आयोजक क्रियटिभ ह्याण्ड्सले सहकार्यका लागि आह्वान गरेको छ । म्याराथनलाई ठाउँको पहिचानसँग स्थापित गर्न र साझा कार्यक्रमका रुपमा विकास गर्न आयोजकले कुनै कसर बाँकी नराखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *