
काठमाण्डौ, १० कार्तिक – गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीलाई देशकै प्रमुख आर्थिक केन्द्र बनाउने लक्ष्य लिएका छन् । जिल्लामा निर्माण भइसकेका र निर्माणाधीन विकासका पूर्वाधारहरुका कारण रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको उल्लेख गर्दै यसलाई अझै बृहत रुपमा अघि बढाउने कार्ययोजना बनाएका छन् ।
लुम्बिनी, बेलहिया नाका, अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत पूर्वाधारले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको उल्लेख गर्दै खाणले पूर्वाधार मात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी बृद्धि लगायतका क्षेत्रमा पनि रुपन्देहीलाई अब्बल र विकसित बनाउने बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यात्रु बोक्ने मात्र नभई कार्गो सेन्टर बनाउने उनको योजना छ ।
रुपन्देहीको सेमलारमा काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी केन्द्र भन्दा ठूलो कृषि थोक बजार केन्द्र निर्माणको क्रममा रहेको जानकारी गराउँदै नेपाली कृषिजन्य वस्तु विदेश निर्यात गरिने बताए । खाणले विदेशबाट हवाई मार्ग हुँदै ल्याउनुपर्ने मालसामान गौतमबुद्ध विमानस्थलमै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि यही विमानस्थलबाट पठाउने वातावरण बनेको र यसकारण हजारौं रोजगारीका अवसर आउने विश्वास व्यक्त गरे ।
यसरी स्थानीयले रोजगारी पाउने र जीवनस्तरमा पनि बदलाव आउने उनको विश्वास छ ।
