
नेपालगन्ज, ३ कार्तिक – निर्वाचन आयोग नेपालले आज विहिबार नेपालगन्जमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९, प्रदेशस्तर मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले ‘आचारसंहिताको उल्लंघनमा मिडियालाई ‘वाच डग’ को भूमिका निभाउन आग्रह गरेकी छिन् ।
उनले विगतका निर्वाचन जस्तै यसपटक पनि मिडियाबाट निष्पक्ष भूमिकाको निरन्तरता आयोगले खोजेको बताइन् । उनले बदर मत घटाउन आयोगले मतदाता शिक्षालाई जोड दिँदै प्रचारप्रसारलाई अगाडि बढाएको उल्लेख गरिन् ।
आयुक्त तुलाधरले आचारसंहिता पालना कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै मिडियाबाट प्राप्त हुने सूचना र सन्देश आयोगका लागि कोशेढुंगा सावित हुने बताइन् । मिडियालाई सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्न उनले आग्रह गरिन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानीय तह निर्वाचन २०७९ मा बाँकेमा पत्रकार र मिडियाले खेलेको भूमिकाको सराहना गरे ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश धनसिंह महराले मतदान कार्य स्वच्छ, निष्पक्ष र भयरहित ढंगले संचालन गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा निर्वाचन आयोगका उपसचिव कमल ज्ञवालीले निर्वाचन र संचार माध्यम तथा राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्यले निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
