नेपालगन्ज, २६ भाद्र – एशियाली विकास बैंकको शहरी विकास परियोजना (एडिबि) अन्तर्गत सडक निर्माण गर्दा अन्य अधिकांस स्थानीयका मापदण्ड बिपरितका घर र पर्खाल भत्काए पनि फुल्टेक्रा चौराह स्थितिय सन्तोष सोनी, नारायण बर्मा र विपिन रेग्मीको घरलाई नभत्काई बाटो निर्माण गर्न शुरु गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ हाल फुल्टेक्रा वडा नं. ६ मा शिव मन्दिर चौकमा रहेको बाटो मापदण्ड अनुसार निर्माण गरिने विषयमा केही दिन अगाडी उपमहानगरप्रमुख डा. धवलशम्शेर राणा, वडाअध्यक्ष समिरप्रताप सिंह, वडासदस्यहरु दिपक श्रेष्ठ, सुरेश सोनी, सावित्री शर्मा अधिकारीलगायतको छलफल भयो, छलफलबाट अब बाटो फराकिलो गर्न सम्बन्धित पक्षले घर तोड्ने भनी आम जनतालाई झुक्याउने तर्क सार्वजनिक गरिएको थियो ।
मापदण्ड अनुसार घरधनीले घर भत्काउन नमानेपछि एडिबीले फुल्टेक्रा चौराहको चारैतिर करीब ५ सय मिटरको भाग कालोपत्रे गरेको थिएन । दुई वर्षदेखि विवाद यथावत रहँदै आएको भएपनि वडामा छलफल पछि पुनः बाटो निर्माण कार्य शुरु गरिएको छ ।
हाल फुल्टेक्रामा निर्माण हुन लागेको बाटो सोही अवस्थामा सम्बन्धित जनप्रतिनिधिहरुको जानकारीमा निर्माण हुन लागेको छ । यसबाट सिधै बुझिन्छ २ वर्षदेखि आलटाल गर्दै जनप्रतिनिधिहरुले टाईमपास र आम सार्वसाधारण जनतालाई मुर्ख बनाई सोही अवस्थामा मापदण्ड विपरित बाटो निर्माण गर्न लागेका छन् भनी स्थानीयहरुको भनाई रहेको छ ।
यसविषयमा वडाअध्यक्ष सिंहले ‘हाललाई एडिबिमार्फत दुबैतर्फ १–१ मिटर छोडी बाटो बनाउन लागेका छन्, पछि उनीहरुले तोडेको अवस्थामा पुनः निर्माण हुनेछ’ बताउँदै –‘आम सार्वसाधारणहरुलाई सहज र सजिलो होस् भनी अहिलेलाई पुरानै मापदण्डमा बाटो बनाइए पनि सन्तोष सोनी, बिपिन रेग्मी र नारायण बर्माले आफ्नो घर तोडेपछि पुनः छुटेको भाग निर्माण गरिने’ बताउनुभयो ।
यो एउटा उदाहरण मात्र हो नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो समेत सोही अनुसार मापदण्ड विपरित बाटो लकडाउनको मौका छोपी निर्माण हुन लागेको छ ।
वडा नं. १८ का आम जनताहरुले त वडाअध्यक्ष र नगरपिता राणाको ठाडो आदेश मार्फत घर नभत्काई बाटो निर्माण गर्न लागेको भनाई सार्वजनिक गरेका छन् ।
नेपालगन्ज कारकाँदो चोकदेखि बसपार्क जाने सडक मै मापदण्ड बिपरित बनेको घरका कारण सडक साघुरो हुने भएको छ । वरपरका अन्य सर्वसाधारणका घर भत्काएर भएपनि सडक बनाउँदै आएको उपमहानगरपालिकाले चण्डी प्रधानको घरनिर पुगेपछि मापदण्ड विपरीत बनेको सो घर नभत्काएरै सडक निर्माण गर्न थालेपछि सर्वसाधारणले चर्को बिरोध गरेका छन् ।
सर्वसाधारणको चर्को विरोधको वास्था नगरी उपमहानगरपालिकाले सडक निर्माण गर्न कडा आदेश दिएको छ । निर्माण कार्यमा खटिएका मजदुरहरुका अनुसार ‘माथिको आदेश छ, त्यसैले हामी सडक बनाउन आएका छौँ ।’ भनी बताउँछन् ।
वडा नं. १८ का स्थानीयहरुको भनाई अनुसार अन्याय, अत्याचार भयो, बोल्न सक्ने, पहुँच पावर भएकोको केही पनी जाँने रहेनछ, बोल्न नसक्ने, पहुँच पावर नभएकाहरुलाई जे नि गर्न मिल्ने बताउँछन् । ‘मेयरलाई यसबारे जानकारी गराउँदा पनि केही प्रतिक्रिया दिनुहुन्न । हाम्रो अवरोध भनेको मापदण्ड अनुसारको नाली र सडक निर्माण गर्नलाई हो, भन्ने मात्रै हो । नाली नबन्दा अप्ठ्यारो भयो । अरु सबैको भत्कियो तर यहाँको घर किन भत्किएन त ? हाम्रो कुरा कसले सुन्नु ?’ भनी स्थानीयहरुले प्रश्न गर्छन् ।