
नेपालगन्ज, २६ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १० महिलासहित १९ जना निको भएर घर फर्किने भएका छन् ।
भाद्र १२ गते कोरोना संक्रमित देखिएका उनीहरु आज शुक्रबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

हालसम्म बाँके जिल्लामा १ हजार ३ सय ६४ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय ७० जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ९१ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७१.११ रहेको छ भने बिरामी मृत्यु दर ०.५९ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२३ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।
