
नेपालगन्ज, २५ भाद्र – विभिन्न मुद्दामा फरार रहँदै आएका अभियुक्तहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा कुन्ने तेली भनिने अलि हुसेन तेली, कनउ खाँ र बब्बु भनिने मोहम्मद सफिक खाँ रहेका छन् ।
जिल्ला अदालत बाँकेबाट गौबध मुद्दामा २०७२ चैत्र १० गते फैसला भई १२ वर्ष कैद सजाय पाएका अलि हुसेन तेली फरार रहँदै आएका थिए । तर प्रहरीको सक्रियताले खजुरा गाउँपालिका वडा नं. ७ बाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनौलीका ईन्सपेक्टर पोषणराज थपलियाले बताउनुभयो ।

साविकको सोनपुर गाविस वडा नं. ८ हाल खजुरा गाउँपालिका वडा नं. ७ गुनाहना बस्ने ३१ वर्षका अलि हुसेन तेलीलाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा उपस्थित गराईएको इलाका प्रहरी कार्यालय धनौलीका ईन्सपेक्टर थपलियाले बताउनुभयो ।
यसैगरी, खजुरा गाँउपालिका ८ का २५ वर्षिय कनउ खाँ र सोही ठाँउ बस्ने २६ वर्षिय बब्लु भन्ने मोहम्मद सफिक खाँलाई समेतलाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको बताउनुभयो । अभियुक्त दुबै जना चोरी मुद्दाका फरार रहँदै आएका अपराधी हुन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाँउपालिका वडा नं. ८ रनियापुरबाट पक्राउ गरेको ईन्सपेक्टर थपलियाले बताउनुभयो ।
