
काठमाण्डौ, ३ असोज – राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री भइसकेका व्यक्तिले सनातन धर्म संस्कृति र तेत्तीसकोटी देवताप्रति वितृष्णा र व्यंग्य गर्नु उपयुक्त नभएको बताएका छन्। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिँदै उनले सनातन धर्म संस्कृति र तेत्तिसकोटी देवताप्रति वितृष्णा र व्यंग्य गर्नु उपयुक्त नभएको बताएका हुन्।
‘मान्छेको पुजा गर्न, जनताको हितमा काम गर्न कसैले रोकेको छैन। भगवान प्रतिको आस्था र विश्वासले जनहितमा काम गर्न, राष्ट्र निर्माण गर्न वाधा खडा गरेको छैन,’ अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री भैसकेका प्रचण्डले सनातन धर्म संस्कृति र तेत्तिसकोटी देवताप्रति वितृष्णा र व्यंग्य गर्नु सर्वथा उपयुक्त होइन।’

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिँदै धर्मका नाममा ढुंगा पुज्दै हिँड्ने काम विज्ञानसम्मत नभएको बताएका थिए।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रम सम्बोधन गर्दै उनले भनेका थिए, ‘‘विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ। अध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर गएको छ। मैले अहिले यसमा डिबेट ठूलो गर्न लागेको होइन्।’
प्रचण्डले आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उँचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर लैजाने पनि बताएका थिए।
‘हामीकहाँ त अब तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ नि। मैले फेरि धर्मलाई नेगेटिभ भनेको होइन है,’ उनले भनेका थिए, ‘चुनावको बेला छ, प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन त। तर विज्ञान, प्रविधि दिवस भएकाले मैले त्यसलाई अपमान नगरिकन भनेको हो।’
