
काठमाण्डौ, २८ भाद्र –चीनको तेस्रो वरीयतामा रहेका नेता ली जान्सु सोमबार काठमाडौं ओर्लिनुभन्दा एक दिनअघि मात्र एक महिनादेखि बन्द गरेको उत्तरी सीमा नाका खुला गरेको छ। चीनले कोरोना महामारीलाई कारण देखाउँदै २२ साउनदेखि एकतर्फी रुपमा बन्द गरेको नाका खुलाएको हो।
चीनले सीमा नाकामा कुनै औपचारिक जानकारी बिना नै प्रतिबन्ध लगाएपछि नेपालमा चीनको विरोधसमेत भएको थियो। नेपाली व्यापारीले सीमा नाकामा रोकिएका कन्टेनर ल्याउनका लागि सहजीकरण गरिदिन नेपाल सरकारलाई गुहार गरेका थिए।

व्यापारीहरुको आग्रहमा नेपाल सरकारले सीमा नाका खोलिदिन काठमाडौं स्थिति चिनियाँ दूतावासलाई पत्र पठाएको थियो। उक्त पत्रको जवाफमा चिनियाँ दूतावासले १० देखि १५ तारिखसम्मका लागि सीमा नाका खुला गर्ने जानकारी गराएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
’चिनियाँ सीमा क्षेत्रमा रोकिएर अलपत्र परेका नेपाली व्यापारीहरुका सामानहरु ल्याउनका लागि १० देखि १५ सेप्टम्बरसम्मका लागि नाका खुला गरेको जानकारी प्राप्त भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने। यस अवधिमा चिनियाँ क्षेत्रमा अलपत्र परेका नेपाली व्यापारीका सामान बोकेका कन्टेनर नेपाल पठाइने भएको छ।
चिनियाँ दूतावासले सीमा नाका ५ दिनका लागि खुला गर्ने जानकारी गराए पनि रसुवा नाका भने अझै बन्द छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले नाका खुला गर्ने भन्ने अनौपचारिक सूचना प्राप्त भए पनि औपचारिक रुपमा नाका खुला नगरिएको बताए। उनले भने, ’नाका खुला गर्ने भन्ने अनौपचारिक जानकारी पाएका हौं। तर, नाका खुला भएको र सामानहरु आयात भएको छैन।’
’चिनियाँ सीमा क्षेत्रमा रोकिएर अलपत्र परेका नेपाली व्यापारीहरुका सामानहरु ल्याउनका लागि १० देखि १५ सेप्टम्बरसम्मका लागि नाका खुला गरेको जानकारी प्राप्त भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने।
त्यसैगरी सिन्धुपाल्चोकमा रहेको तातोपानी नाकाबाट भने आइतबारदेखि केही कन्टेनर आउन थालेका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेधनिधि खनालले आइतबारबाट केही केन्टेनर आउन थालेको जानकारी दिए। उनले भने, ’आइतबारदेखि सीमा क्षेत्रमा रोकिएका कन्टेनर आउन थालेका छन्। ’
चिनियाँ नेता फर्किएसँगै नाका फेरि बन्द हुने
चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली सोमबार काठमाडौं ओर्लिएका छन्। उनी सेप्टेम्बर १५ मा दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन्। उनी नेपालबाट फर्किएसँगै सीमा नाका बन्द हुनसक्छन्। चीनले पठाएको औपचारिक पत्रमा नै ढिलोमा सेप्टम्बर १५ सम्मका लागि मात्रै नाका खुला गरिने जानकारी गराइएको छ।
चिनियाँ तेस्रो वरीयताका ली नेपाल भ्रमणका क्रममा उनीविरुद्ध कुनै पनि अवाञ्छित गतिविधि अथवा व्यापारीद्वारा विरोध प्रदर्शन नहोस् भन्नका लागि नाका खुला गरिएको हुनसक्ने विश्लेषण भइरहेको छ।
