
नेपालगन्ज, २४ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाले डेंगु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामुलक र प्रचारात्मक अभियान सञ्चालन गर्ने भएको छ ।
डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि शुक्रबार भएको सरोकारवालाबीचको बैठकमा नगर उपप्रमुख कमरुद्धिन राईले डेंगु रोग नियन्त्रणका र रोकथामका लागि नगर क्षेत्रमा लामखुट्टेको बास स्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका गतिविधीमा जोड दिइएको बताउनुभयो ।
नगर उपप्रमुख राईले डेंगु विरुद्धको अभियानमा सम्पूर्ण नगरबासी र सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. राजन पाण्डेले डेंगु अहिले बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको भन्दै सामान्य ज्वरो आएको अवस्थामा जथाभावी औषधी सेवन नगर्न सुझाव दिनुभयो । डेंगु भएपनि ९९ प्रतिशत आफै निको हुने भन्दै उहाँले स्वास्थ्य सेचतना आवश्यक भएको बताउनुभयो । भेरी अस्पतालमा डेंगु भन्दा स्क्रब टाईफस लगायतका विरामी बढि भएको उहाँको भनाई छ ।
भेरी अस्पतालका प्रमुख डा. बद्री चापागाईले अस्पतालमा विरामीको चाप अधिकत रहेको र शैया अभाव रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल, किटजन्य रोग फोकल पर्सन दुगौ गौतम, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्द, तेज वली लगायतले लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगुबाट जोगिने भरपर्दो उपाय भएको बताउँदै रोग लाग्न नदिन सरसफाईमा विशेष दिनुपर्नेमा जोड दिनुभयो ।
