
चितवन, २३ भाद्र – क्यान्सरको उपचारका लागि भदौ १७ गते भरतपुर आइपुगेकी धनुषाकी सूर्यकला देबीले केही दिन पछि कोरोना परीक्षणको अवसर पाइन् ।
भोलिपल्ट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उनको स्वाब निकालेर परीक्षणका लागि पठायो। चार दिनमा रिपोर्ट आयो ।

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले भदौ २२ गते सोमबार सार्वजनिक गरेको रिपोर्टमा उनमा कोरोना पोजेटिभ रहेको उल्लेख थियो ।
अस्पतालको नजिकै रहेको गोरखा वारपाक होटलमा बसेकी उनलाई कोरोना पुष्टि भएपछि घर फर्काउन स्थानीयबासी तथा होटल सञ्चालकहरूले धनुषाको स्थानीय तहमा सम्पर्क गरे । उनलाई घर पठाउनका लागि सोमबार अपरान्ह ९ हजार रुपैयाँ खर्च गरेर एम्बुलेन्स पनि मगाइयो। तर एम्बुलेन्ससँगै उनको मोवाइलमा एसएमएसको आवाज पनि आइपुग्यो । भरतपुर अस्पतालले पठाएको एसएमएस खोलेर हेर्दा लेखिएको थियो ‘तपाईको कोभिड १९ आरटी पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ’ छ ।
मध्यान्ह १२ बजे कोरोना पोजेटिभ देखिएको खबर पाएकी सूर्यकलाले करिब ५ घण्टाको अवधिमा नेगेटिभ रिपोर्ट आएको एसएमएस देखिन् । उनको मोवाइलमा दुई पटक उस्तै एसएमएस आएको थियो ।
एसएमले सूर्यकलाको परिवारमा खुसी छायो । कोरोना होइन भन्ने खबर पाएपछि एम्बुलेन्सलाई फिर्ता पठाउने सल्लाह भयो। कोरोनाकै कारण उपचार नगराइकन फर्कन लागेकी सूर्यकलालाई उपचार सकेर फर्कने कुराले खुसी बनाउनु स्वभाविकै थियो । यद्यपी केही घण्टा अघि आएको रिपोर्टमा लेखिएको ‘पोजेटिभ’ शब्दले उनी र उनको श्रीमानको मनमा घोचिरहेको थियो ।
थप प्रष्ट हुने उद्देश्यले क्यान्सर अस्पतालको प्रहरीलाई उनीहरूले आफ्नो कुरा सुनाए । प्रहरीले भोलि बुझेर खबर गर्ने आवश्वासन दियो ।
उनीहरू अन्योलकाबीच नै एम्बुलेन्स चढेर धनुषा लागे । यो अवस्थाले सूर्यकला जस्ता धेरैलाई अन्योलमा पारेको छ । (सेतोपाटी)
