Monday, May 4सत्यम खबर
Shadow

चिनियाँ नाकाबन्दी कायमै

काडमाण्डौ, ७ भाद्र –उत्तरतर्फका दुई नाका सञ्चालन नियमित नहुँदा नेपालको व्यापार लागत र समय बढेको देखिएको छ । तातोपानी र रसुवा नाका सञ्चालन अनियमित हुँदा चीन र चीन हुँदै तेस्रो मुलुकसँग नेपालले गर्ने व्यापारको लागत र व्यापार हुने समय बढेको देखिएको हो । रसुवा र तातोपानी नाकाबाट आउने सामान भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल भित्र्याउँदा व्यापार लागत प्रतिकन्टेनर एक हजार अमेरिकी डलरसम्मले बढी परेको सरोकारवालाले बताएका छन् । त्यस्तै, उत्तरी नाकाबाट १५ दिनमा नेपाल आइपुग्ने सामान भारत हुँदै ल्याउँदा दुई महिनासम्म लाग्ने उनीहरूले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रविकुमार सैँजूले रसुवा र तातोपानी नाका नियमित रूपमा नचल्दा व्यापारको समय र लागत बढी हुन पुगेको बताए । ‘चिनियाँ ट्रान्सपोर्ट कम्पनी मुसा लजिस्टिक, नेपालका आयातकर्ता र चिनियाँ निर्यातकर्तासँगको सोधबाट व्यापार लागत प्रतिकन्टेनर एक हजार डलरसम्म बढी हुने र समयसमेत एकदेखि डेढ महिना अतिरिक्त लाग्ने गरेको पाइयो,’ उनले भने, ‘कोभिड प्रोटोकल पालना गर्दै नाका सहज रूपमा सञ्चालन हुन नसकेकाले व्यापारको लागत र समय अझ बढ्न सक्छ ।
करिब अढाई वर्षदेखि नेपाल र चीनबीचका दुवै नाका नियमित सञ्चालन हुन सकेका छैनन् । निर्यात शून्य छ भने आयात पनि आंशिक मात्रै रहेको छ । चीनले तिब्बतमा कोभिड देखिएको भन्दै पछिल्ला दुई सातायता दुवै नाका पूर्ण रूपमा बन्द गरेको छ । दुवैतर्फका नाका सहज नहुँदा व्यवसायीले भारत हुँदै समेत सामग्री आयात गरिरहेको हिमालयन सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए । ‘सकेसम्म रसुवा र तातोपानी नाकाबाट नै आयात गर्ने हो, तर नाका सहज नभएका कारण भारत हुँदै आयात गर्नुपरेको छ,’ उनले भने, ‘यसो हुँदा हाम्रो लागत र समय दुवै उच्चदरमा बढेको छ ।’ उनले १५ दिनमा आइपुग्ने सामग्री ल्याउन दुई महिना लाग्ने बताए । त्यस्तै, लागतसमेत प्रतिकन्टेनर एक हजारदेखि १२ सय अमेरिकी डलरसम्म बढी लाग्ने उनको भनाइ छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले नाका सञ्चालन अनुमानयोग्य विश्वसनीयता नहुँदा व्यवसायीहरूले अरू नै वैकल्पिक ‘रुट’ प्रयोग गर्न रुचाउने गरेको बताए । ‘व्यापारमा अनुमान महत्वपूर्ण हुन्छ, नाका चल्न सक्ने अनुमान गरेर मात्रै व्यापार गरिन्छ,’ उनले भने, ‘तर, तातोपानी नाका कोभिड, पूर्वाधारलगायतका कारण अनियमित भइरहेको छ, यसले एकातर्फ व्यापार लागत बढाएको छ भने अर्कातर्फ व्यवसायीले नाकाकै विकल्प खोज्न थालेका छन् ।’

उत्तरी नाकाबाटै सामान ल्याउँदा तुलनात्मक रूपमा सस्तो र कम समय पर्ने भएकाले पनि व्यवसायीहरूले सकेसम्म रसुवा र तातोपानीकै नाका रोज्ने गरेको रसुवा भन्सार कार्यालय प्रमुख नारायणप्रसाद मैनालीले बताए । तर, नाका अनियमित हुँदा भने व्यापार प्रभावित भइरहेको उनको भनाइ छ । रसुवा भन्सार कार्यालय प्रमुख नारायणप्रसाद मैनालीले नेपालका आयातकर्ताले मगाएको मालवस्तु रुटमै रहेको बताए । तर, नाका बन्द हुँदा ती सामग्री नेपाल भित्रिने विषय भने अनिश्चित भएको जानकारी दिए । ‘नाका औपचारिक जानकारी दिएर बन्द भएको होइन, कहिले खुल्छ भन्ने जानकारी पनि छैन,’ उनले भने, ‘व्यवसायीहरूले सामग्री ल्याएको जानकारी छ, तर यता नाका बन्द भएपछि उतै अड्किएका छन् ।’ दैनिक सरदर १० ट्रक सामग्री भित्रिने आधारभन्दा नेपालले मगाएका एक सय ५० ट्रक सामग्री चीनतर्फै अड्किएको हुन सक्ने उनले बताए ।

व्यापार घाटा साढे दुई खर्ब
छिमेकी मुलुक चीनसँगको नेपालको व्यापार घाटा बढ्दो अवस्थामा रहेको छ । आव ०७८/७९ मा आइपुग्दा व्यापार घाटा एक खर्ब ६ अर्बले बढेर साढे दुई खर्ब पुगेको छ । आर्थिक वर्ष ०७८/७९ मा नेपालले चीनसँगको कुल दुई खर्ब ६५ अर्ब ५८ करोड रुपैयाँबराबरको व्यापार गरेको थियो । जसमा नेपालले दुई खर्ब ६३ अर्ब नोक्सान व्यहोर्नुपरेको छ । यस आवमा नेपालले दुई खर्ब ६४ अर्ब आयात गर्दा ८० करोडको मात्रै निर्यात गर्न सकेको छ । आर्थिक वर्ष ०७८/७९ मा तातोपानी नाका हुँदै नेपालमा १४ अर्ब दुई करोड रुपैयाँबराबरका वस्तु आयात भएका छन् । त्यस्तै, रसुवा नाका हुँदै २६ अर्ब ६२ करोड रुपैयाँबराबरका वस्तु भित्रिएका छन् । तर, दुवै नाकाबाट निर्यात भने हुन सकेको छैन ।

दसैँका लागि मगाइएका सामग्री चीनमै अड्किए
चीनले कोभिड संक्रमण बढेको भन्दै दुई सातादेखि दुवै नाका पूर्ण रूपमा बन्द गराएको छ । यसले गर्दा दसैँका लागि मगाइएको सामान चीनतर्फ अड्किएको संघका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए । ‘दसैँका लागि मगाइएका लत्ताकपडा, जुत्ताचप्पल, गार्मेन्टका कच्चा पदार्थ, विद्युतीय सामग्रीलगायत सामान सिगात्से, खासा तथा केरुङमा अड्किएका छन्,’ उनले भने, ‘तत्काललाई अड्किएका कन्टेनर छाड्नका लागि मात्रै भए पनि नाका सञ्चालन गराउन हामीले आग्रह गर्दै आएका छौँ ।’

चीनले २५ साउनदेखि नाका बन्द गरेको तातोपानी भन्सार प्रमुख गौतमले जानकारी दिए । नाका बन्द हुँदा नेपालका लागि मगाइएका सामानहरू पारि नै अड्किएको हुन सक्ने उनले बताए । ‘तातोपानी नाकाबाट दैनिक आठदेखि १० कन्टनेर सामग्री भित्रिन्थे, अहिले १५ दिन नाका बन्द हुँदा एक सय ५० कन्टेनरजति पारि नै अड्किएको हुन सक्छ,’ उनले भने, ‘यो सिजनमा दसैँ लक्षित सामग्री आयात हुने भएकाले लत्ताकपडा, विद्युतीय सामग्री, फलफूललगायत वस्तु अड्किएको हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *