Tuesday, October 22सत्यम खबर
Shadow

फेसबुक ‘ह्याक’ गरेर ठगी, तीन जना पक्राउ

काठमाण्डौ, ५ भाद्र –प्रदेश १ मा ‘कम्प्युटर साइन्स’ अध्ययनरत विद्यार्थीले सामाजिक सञ्जाल फेसबुक ‘ह्याक’ गर्ने गिरोह खडा गरेर ठगी गरिरहेको पाइएको छ । सर्वसाधारणका फेसबुक ‘ह्याक’ गर्दै नक्कली ई–सेवा आईडी बनाएर रकम ठगी गरिरहेको फेला परेको हो । ठगी गर्ने गिरोहका तीन जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईका अनुसार झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रवीण राजवंशी र भवेश राजवंशीलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरु ‘कम्प्युटर साइन्स’ अध्ययनरत विद्यार्थी हुन् । झापाको भद्रपुरबाट गत बुधबार पक्राउ गरी तीनै जनाविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डिएसपी राईले दिए ।

गत जेठमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ का डिल्लीबहादुर राउतको फेसबुक अकाउण्ट ‘ह्याक’ भएको थियो । आफ्नो आईडी ‘ह्याक’ गरी फेसबुकमा जोडिएका साथीहरुसँग रकम ठगी गर्ने काम भइरहेको भनेर राउतले जेठ १२ गते प्रहरीमा उजुरी दिएका थिए ।

फेसबुक ‘ह्याक’ गरेको गिरोहले आफू बिरामी परेको भनेर म्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई–सेवा आईडी खडा गरी रकम पठाउन लगाएर फेसबुकका साथीहरुलाई ठगी गरिरहेको उल्लेख गरेर उनले निवेदन दिएका हुन् । प्रहरीले अनुसन्धान अघि बढाउँदै गिरोहको खोजी थालेको थियो । अन्ततः फेसबुक ‘ह्याक’ गर्ने गिरोहलाई समात्न सफल भइएको डिएसपी राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *