Thursday, April 23सत्यम खबर
Shadow

पाँच दलले राष्ट्रपतिको अपमान गरेः एमाले नेता

काठमाडौं, ३ भदौ – नेकपा एमालेका नेता केशव बडालले बालुवाटारमा पाँच दलको बैठक बसेर संसदलाई निर्देशन गर्नु लोकतन्त्रविरोधी र संविधानविरोधी काम भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “हिजो संसद्मा नागरिकता विधेयक जस्ताको तस्तै पास गर्नुपर्छ भनेर केही नेताहरु बुरुबुरु उफ्रेको देखें । बालुवाटारमा पाँचजना टाउको बसेर संसद्लाई निर्देशन गर्नु संविधानविरोधी र लोकतन्त्र विरोधी काम हो । लोकतन्त्रको डंका पिट्ने सांसदहरुले नै गोटीजस्तो बनेर लुरुलुरु विधेयक पास गरे ।”


हिजो केपी ओलीले यस्तै विधेयक अध्यादेशका रुपमा राष्ट्रपतिलाई पठाउँदा प्रमाणीकरण गर्नुभएको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “अध्यादेशमा राष्ट्रपतिले पुनर्विचार गर्ने ठाउँ हुँदैन । त्यो पनि हाउस सुरु भएको ६० दिनभित्र पास गर्नुपर्छ । उहाँले संविधानको अक्षर र भावनाविपरीत जान मिल्दैन । एक इन्च पनि जानुहुन्न ।” राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ मा १३ बुँदे सुझावसहित नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । त्यसलाई हिजो संसद्ले बहुमतका साथ हुबहु पारित गरेको छ ।
अब राष्ट्रपतिले के गर्नुपर्ला भनी सोधिएको प्रश्नमा नेता बडालले भने, “राष्ट्रपतिको कुरा मलाई थाहा हुन्न । तर राष्ट्रपतिलाई लान्छित गर्ने, अपमान गर्ने काम गर्नुहुँदैन । यो सरकारले कहींको इशारामा नागरिकता विधेयक ल्याएको हो । नगर्नुपर्ने काम गरेको छ, गर्नुपर्ने काम केही गरेको छैन । एमाले नागरिकता प्राप्तिमा एउटा नेपाली नछुटोस्, एउटा विदेशी नछिरोस् भन्ने चाहना राख्छ ।”
आगामी निर्वाचनमा एमाले एक्लै लड्ने पनि उनको उद्घोष छ । बडालले भने, “पाँच दलीय गाँठो-बन्धनसँग हामी एक्लै लड्ने तयारीमा छौं । तर कुनै पनिसंघीय र प्रदेश निर्वाचन क्षेत्रमा हामी मिलेर लड्छौं भनियो भने जबर्जस्ती गर्दैनौं, पार्टी केन्द्रले उदारतापूर्वक लिन्छ ।” रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *