
नेपालगन्ज, ९ साउन – नेपालगन्ज उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा विभिन्न खालका बेथितीहरु देखिएका छन् । नगर प्रमुख प्रशान्त विष्ट सोमबार आकस्मिक निरीक्षणमा पुग्दा विभिन्न विद्यालयमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको, आफुखुशी विदामा बसेको, हाजिर नगरेको लगायतका कमजोरी भेटिएको नगर प्रमुख विष्टले जानकारी दिनुभयो । 
शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राख्नु भएका नगर प्रमुख विष्ट सोमबार शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापालाई लिएर आकस्मिक निरीक्षणमा पुग्नुभएको हो । महेन्द्र माविमा १८ जना शिक्षक कार्यरत रहेको सोमबार विहान १०.१० बजेसम्म ८ जना शिक्षक मात्रै उपस्थित भएको पाइएको छ । यसैगरी मंगलप्रसाद माविमा सरकारी कोषबाट तलब पाउने २१ सहित ५३ शिक्षक कार्यरत रहेकोमा सोमबार विहान १०.३० बजेसम्म चार जना शिक्षकले मात्रै हाजिर रजिष्टरमा उपस्थिती जनाएको पाइएको छ ।
मंगलप्रसाद मावि र महेन्द्र माविको तुलनामा राम्रो देखिएपछि नेपालगन्ज कन्या माध्यामिक विद्यालयमा भने निरीक्षण टोलीले धन्यवाद दिएर फर्केको छ । कन्या माविमा १३ जना शिक्षक कार्यरत रहेकोमा एक जना स्वीकृत विदामा बसेको र अन्य सबै उपस्थित भएको पाइएको शिक्षा शाखा प्रमुख थापाले जानकारी दिनुभयो ।
सम्पूर्ण शिक्षक कर्मचारी समय मै उपस्थित भएको, विद्यालयको चौरमा सुनसान देखिएको, शिक्षकहरुले नियमित कक्षा सञ्चालन गरेको पाइएपछि कन्या माविलाई निरीक्षण टोली धन्यवाद दिएर फर्केको हो ।
आकस्मिक निरिक्षणपछि नगर प्रमुख विष्टले विद्यालयमा अनुपस्थित शिक्षक तथा कर्मचारीलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउन शिक्षा शाखा प्रमुख थापालाई निर्देशन दिनुभयो । भौतिक पूर्वाधारतर्फ कुनैपनि चिन्ता नगर्नुस, निरिक्षणका क्रममा नगर प्रमुख विष्टले भन्नुभयो,– शिक्षकहरु शैक्षिक गुणस्तर सुधारमा ध्यान दिएर लाग्नुहोस ।
शिक्षा शाखा प्रमुख थापाले पहिलो चरणमा निरीक्षणको क्रममा शिक्षकको उपस्थिती मात्रै हेरिएको बताउँदै नियमित समय मै शिक्षकको उपस्थितीले पनि विद्यालयको शैक्षिक वातावरण सुधार हुने भएकाले पहिलो अनूगमन शिक्षक उपस्थितीमा केन्द्रीत भएको बताउनुभयो ।
नगर प्रमुखको निर्देशन अनुसार, अनुपस्थित शिक्षकहरुलाई आवश्यक कारवाहीका लागि तत्कालै स्पष्टीकरण सोध्ने शाखा प्रमुख थापाले जानकारी दिनुभयो ।
नगर प्रमुख विष्टले नगरका सम्पूर्ण विद्यालयमा आकस्मिक खालको अनूगमन तथा निरीक्षण सोमबारदेखि सुरु भएको भन्दै जुनसुकै समयमा जुनसुकै विद्यालयमा पनि हुन सक्ने बताउनुभयो ।
दोश्रो चरणमा शिक्षक उपस्थितीसँगै, विद्यार्थीको उपस्थिती र अन्य शैक्षिक अवस्थामा केन्द्रीत भएर अनूगमन तथा निरीक्षण हुने नगर प्रमुख विष्टले बताउनुभयो ।
