
चितवन, १७ भाद्र – चितवनका थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेल परीक्षण प्रयोगशालाबाट मंगलबार राति प्राप्त रिपोर्टमा चितवनका ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ जना र धुलिखेलमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ । उनीहरू २१ देखि ८० वर्ष सम्मका छन् ।
भरतपुरमा गरिएको परीक्षणमा अन्य विभिन्न जिल्लाका ७ समेत गरी ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
चितवनमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् ।
भरतपुरमा १६ पुरुष र १० महिला गरि २६ जनामा संक्रमण पुष्टि भएको छ ।
उनीहरूको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।
यस्तै रत्ननगर नगरपालिका–१० की २७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । उनको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।
यस्तै क्वारेन्टिनमा रहेकी राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरि चितवन बाहिरका संक्रमण पुष्टि हुनेमा नवलपरासीका २ पुरुष र एक महिला गरी तीन जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सरबाट स्वाब दिएका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरि धनुषा, रुपन्देही, सिरहा र बाराका एक–एक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू सबैले वीपी कोइराला मेमोरियल क्यान्सरबाट स्वाब दिएका थिए ।
त्यसैगरी, धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुने सबै भरतपुर महानगरपालिकाका हुन् । उनीहरू २ जना पुरुष र ११ जना महिला रहेका छन् ।
चितवनमा स्वाब थुप्रिएपछि ७५५ ओटा नमुना काठमाडौं र धुलिखेल पठाइएको थियो ।
यससंगै चितवनमा कुल संक्रमितको संख्या ७९६ पुगेको छ । उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्रै ४ सय ९८ जना पुगेका छन् । १ सय ५४ जनालाई निको भएको छ ।
चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको भरतपुर अस्पतालले जनाएको छ ।
चितवनमा अहिलेसम्म ११३ जना स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण देखिएको छ । (सेतोपाटी)
