
के आर शर्मा
नेपालगन्ज, २३ जेष्ठ – बैशाख ३० गते सम्पन्न स्थानीय तह-निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई नवनिर्वाचित जिल्ला भरका जनप्रतिनिधिहरुलाई नेपाली कांग्रेस बाँकेले आईतबार एक कार्यक्रम बीच बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सञ्जयकुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा बिशिष्ठ अतिथि केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पुर्व जिल्ला सभापति तथा पूर्वमंत्री गजेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र जिल्ला सभापति नारायण प्रसाद गौडेलले आ-आफ्नाे मन्तब्यका साथ नवनिर्वाचित जनप्रतिनिधिहरुलाई टिका र खादा लगाएर सम्मान गरेका थिए ।
बाँकेमा कांग्रेसबाट ६ जना पालिका प्रमुखमा, ६ जना पालिका उपप्रमुखमा र २८ जना वडा अध्यक्ष निर्वाचित भएका सदस्य लगायत जनप्रतिनिधिको सम्मान कार्यक्रममा बोल्दै नेताहरुले बिगत स्थानीय चुनावको भन्दा यसपटक पार्टीले पालिका प्रमुख उपप्रमुख र वडासम्म सिरठाडो पारेको छ र यसको अझ उचाई बनाइ राख्न सबै जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । पार्टीसंग समन्वय गरेर जनताका आकांक्षा अनुसार काम गर्न आग्रह समेत गरेका छन् ।
परिवर्तनलाई आत्मसात गर्दै मुलुकको हित उन्नतीका लागि सेवक भएर गाउँ नगर समाजको बृहत हितका लागि काम गर्नु पर्ने बताउँदै पद्धति भन्दा पनि गलत प्रबृतिमा सुधार ल्याउनु पर्ने र पार्टीको शाखलाई जोगाउन उत्कृष्ट सेवा प्रवाह र सुशासन कायम गर्न विशेष ध्यान दिनुपर्नेमा नेताहरुले जोड दिँदै नवनिर्वाचित जनप्रतिनिधिहरुले स्थानीयतह र पार्टी बीच समन्वय गर्दै जन-भावनालाई केन्द्रविन्दुमा राखेर काम गर्न प्रतिबद्ध हुन जनप्रतिनिधिहरुलाई पार्टी नीति अनुरुप अघि बढ्न र पार्टीको विश्वासलाई नडग्मगाउन दृढ संकल्पित भएर अघि बढन आग्रह गरे ।
कार्यक्रममा पूर्व सभापति कृष्णमान श्रेष्ठ, निवर्तमान सभापति किरण कोइराला, महासमिति सदस्य मेघराज ओली, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, २ का सभापति रमेशकुमार गुप्ता, प्रदेश १ ‘क’ का सभापति लक्ष्मण थारु, कोहलपुर नगर सभापति विरेन्द्रकुमार शाह, महाधिवेशन प्रतिनिधि परमेश्वरी पाठक र महिला संघकी अध्यक्ष नारायण रुपाखेती लगायतले बोलेका थिए ।
यस्तै कार्यक्रममा नवनिर्वाचित पालिका प्रमुखहरुमा नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगर पालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र डुडुवाका पालिका प्रमुख नरेन्द्रकुमार चौधरीले जनचाहना अनुसार गाउँ, नगरमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा उपसभापति कृष्णकुमार कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको थिए भने कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 
