
नेपालगन्ज, १० जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का नवनिर्वाचित वडा अध्यक्ष समिर प्रताप सिंह लगायत टिमले पदभार ग्रहण गरेका छन् । वडा कार्यालयमा कर्मचारीहरुद्वारा एक समारोहको आयोजना गरेर अध्यक्ष सिंहलगायत वडा सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।

दोस्रो पटक अध्यक्षमा दोहोरिएका सिंहले पदभार ग्रहणसँगै कोभिड–१९ को समयमा थल परेको स्वास्थ्य र शिक्षा गतिविधिमा तिब्रता दिन निर्देशन दिएका छन् । वडाअध्यक्ष सिंह– आफू वडाको सेवक भएको हु“दा पुनः सेवा गर्ने अवसर वडाबासीहरुले दिएको हु“दा हार्दिक अभार व्यक्त गर्दै नवनिर्वाचित वडा सदस्यहरुसहित आफ्नो टीमले पहिलो प्राथमिकताको साथ वडामा स्वास्थ्य, शिक्षा तथा धार्मिक मठमन्दिरहरुको संरक्षण तर्फ केन्द्रित रही कार्य गर्ने बताउनुभयो ।

समाजसेवी माधवराम बर्माले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सफल कार्यकालको शुभकामनासहित जनताको सेवक भई कार्य गरी जनताले पुनः दिएको मतलाई सम्मान गर्न बताउनुभयो ।

यस्तै वडा सदस्य मदन क्षेत्र तथा जमालुद्दीन बागवानले हाम्रो टीममार्फत वडाका प्रत्येक टोलमा तीन तीन महिनामा गएर वडाबासी सर्वसाधारण जनताहरुको अवस्था बुझ्नुका साथै उहाँहरुको सल्लाह सुझाव अनुसार वडा विकासका कार्यहरु गर्ने बताउनुभयो ।

यस्तै वडा महिला सदस्यद्वय संगिता रेग्मी तथा भूमि दमिनीले वडाबासीहरुको सकारात्मक सुझाव अनुसार आफूहरुले सदैव सेवकको रुपमा रही कार्य गर्ने बताउनुभयो ।
पदभार ग्रहण तथा स्वागत कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का सचिव मदनबहादुर रावतद्वारा भब्य स्वागत गरिनुका साथै नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई मायाको चिनो स्वरुप डायरी र कमल प्रदान गरिएको थियो ।

नवनिर्वाचित वडाका जनप्रतिनिधिहरुलाई पण्डित बद्री विशाल मिश्राले मन्त्रोउच्चारण गरी वडा कार्यालयमा स्वागत गरेका थिए ।

शिला देवकोटाले सञ्चाल गरेको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा भक्तबहादुर खत्री, प्रियंका आचार्य, राजु भट्टराई, नवराज रोकाय, मोहन शर्मा, उमेशकुमार वर्मा, शान्ति कुर्मी, वडा स्वास्थ्य शाखा प्रमुख गणेश के.सी., सहयोगी बालिका परिवार, निशा बुढाक्षेत्री, सत्यमखबर डटकमका चन्द्रेश्वरराज त्रिपाठी, शुभम शर्मा, वडाबासी तथा सेवाग्राहीहरु लगायतको सहभागिता रहेको थियो ।





