Saturday, April 25सत्यम खबर
Shadow

कारागारमा कैदीको आत्महत्याले ल्याएको हलचल, पीडितद्वारा न्यायको लागि समिति गठन

नेपालगन्ज, ९ जेष्ठ – चार दिनअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ दैलेखी बंगालाका २४ वर्षीय राजकुमार हरिजन (चमार)को मोबाइलमा फोन आयो ।
‘तपाईं विजयविक्रम शाहको को हो ?’ फोन गर्नेले सोधे ।
राजकुमारले उक्त नामको व्यक्तिसँग आफ्नो कुनै साइनो नभएको बताए । दिनभरि उनलाई फोन आयो । प्रश्न दोहोरियो तर फोन गर्ने मान्छेले आफ्नो परिचय दिएनन् ।
कारागारको रेकर्डमा ती कैदी सुर्खेतको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाह हुन् भन्ने उल्लेख थियो । नम्बर भने राजकुमारको लेखिएको थियो । २७ वर्षीय शाह हातहतियार तथा खरखजनामा मुद्दामा पक्राउ परेका थिए ।
रोल्पा कारागार प्रशासनले सुर्खेतमा शाहका आप्mन्तलाई फोन गरी शव बुझ्न आउन आग्रह गर्न खोज्दा उनीहरूले शाह जेलमा नरहेको र पहिले नै छुटिसके बताए ।

नेपालगन्ज उपमहानगरपालिकाद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुको पदस्थापनाका दिन नेपालगन्ज उपमहानगरपालिका गेटमा न्यायको लागि प्रदर्शन गर्दै समिति
फोटोः सत्यमखबर डटकम


त्यसपछि रोल्पा कारागार प्रशासनमा हलचल भयो । प्रहरी अधिकारीहरू पनि अवाक् भए । नेपालगन्ज कारागार प्रशासनमा पनि तनावमा नहुने कुरै भएन । के गर्ने÷नगर्ने अन्यौल छायो ।
अन्यौलबीच शनिबार बिहानै जिल्ला कारागार बाँकेबाट फेरि राजकुमारलाई फोन आयो । फोन गर्नेले उनका भाइले जेलमा आत्महत्या गरेको कुरा गरे । राजकुमारले विजयविक्रम शाह नामको मान्छे आफ्नो भाइ नभएको बताए ।
एकछिन पछि एकजना प्रहरी मोटरसाइकल लिएर राजकुमारलाई लिन घरमै पुगे । राजकुमारले ती प्रहरीलाई सम्झाउन खोजे । उनले मानेनन् । राजकुमार र ती प्रहरी एउटै मोटरसाइकलमा रोल्पा गए । उनीहरू बेलुका रोल्पा कारागार पुगे । विजयविक्रम शाह भनिएका व्यक्तिको शव देखाउन राजकुमारलाई प्रहरीले रोल्पा पु¥याएको थियो ।
राजकुमार शव देखेपछि थुचुक्कै भुइँमा बसे । डाँको छोडी रून थाले । शव उनका कान्छा भाइ २० वर्षीय सुन्दर हरिजनको थियो । राजकुमारले भाइलाई अघिल्लो आईतबार मात्रै ६ हजार रुपैयाँ सापट गरेर पठाइदिएका थिए ।
‘भित्रै वकिल छ, कुरा मिलाउनलाई ६ हजार मागेको छ, त्यो पैसा भए म छिट्टै छुटिहाल्छु, दाइ,’ भाइले भनेको सम्झिँदै राजकुमारले भने, ‘भाइ निकै खुसी सुनिन्थ्यो । छिट्टै छुट्न पाउने आशमा निकै उत्साहित थियो । उसले कसरी आत्महत्या गर्न सक्छ ?’

नेपालगन्ज उपमहानगरपालिकाद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुको पदस्थापनाका दिन नेपालगन्ज उपमहानगरपालिका गेटमा न्यायको लागि प्रदर्शन गर्दै समिति
फोटोः सत्यमखबर डटकम


एक–दुई दिनमा छुट्छु भनेको भाइको शव देखेर राजकुमारले के गर्ने मेसो पाउन सकेनन् । अधिकारीहरूले शव बुझ्न भने ।
‘म लेखपढ नगरेको मान्छे हजुर,’ राजकुमारले भने, ‘शव त्यहीँबाटै नल्याउनु पर्ने रहेछ ।’
पोष्टमार्टमका लागि शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा राखिएको छ । हरिजन परिवारले अस्पतालबाट सुन्दरको शव नबुझ्ने र न्यायका लागि लड्ने निर्णय गरेको छ ।
आफूले भाइको शरिर र अनुहारमा निलडाम मात्रै देखेको राजकुमारले बताए । न्यायका लागि दबाब दिन उनीहरूले संघर्ष समिति पनि बनाएका छन् । ‘मेरो भाइलाई चोरी मुद्दामा १६ वर्ष नपुग्दै जेल हाल्न नपाइनु पर्ने हो,’ राजकुमारले भने, ‘अहिले पनि कर्मचारीको मिलेमतोमा अरूको मुद्दा बोकाएर फसाइएको रहेछ ।’ १६ वर्षमा जेल परेका सुन्दर ४ वर्ष जेलमा बसेको राजकुमारले बताए ।
चोरी मुद्दामा उमेर नपुगी जेल हाल्नेहरू र अरूको मुद्दा मिलोमतोमा भाइलाई बोकाइदिने कर्मचारीको पहिचान गरी कानुनी कारबाही हुनुपर्ने उनले माग गरे । आफूहरू पीडामा रहेका बेला प्रहरीका मानिसले फोन गरेर दोषारोपण गर्ने गरेको राजकुमारले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुको पदस्थापनाका दिन नेपालगन्ज उपमहानगरपालिका गेटमा न्यायको लागि प्रदर्शन गर्दै समिति
फोटोः सत्यमखबर डटकम


‘घर परिवारका तिमीहरू पनि मिलेका छौ भन्दै हामीलाई जे पायो त्यही दोषारोपण गर्ने गरिएको छ,’ राजकुमारले भने, ‘हामीले नै भाइलाई पैसाको लागि अर्काको सट्टा जेल बस्न पठायौं भन्ने उनीहरू मिथ्या कुरा गरी थप पीडा दिइरहेका छन् ।’
रोल्पा कारागारका जेलर विशाल खनालका अनुसार कारागारमा सुन्दरको उमेर २४ वर्ष छ । २०७७ मंसिर ८ गते नेपालगन्ज कारागारबाट सुन्दर र विजयलाई सँगै रोल्पा कारागारमा स्थानान्तरण गरिएको थियो । खनाल जेलर भएर रोल्पा कारागारमा आएको डेढ महिना भएको छैन । त्यसमा पनि निर्वाचनमा खटिनु परेका कारण आफू तीन दिनअघि मात्रै कार्यालयमा पुगेको खनालले बताए । यस्तो घटनामा कर्मचारीलाई मात्रै दोष दिनु गलत हुने खनाल दाबी गर्छन् ।
‘यसमा योजनावद्ध रूपमा कैदी बन्दी आपसमा मिलेका हुन सक्छन्,’ खनालले भने, ‘पाँच दिन अगाडि कारागार व्यवस्थापन विभागले छानबिन समिति गठन गरेको छ । विभागले नै छानबिन पछि सत्य तथ्य सार्वजनिक गर्ला ।’
कारागार व्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईंको संयोजकत्वमा गठित पाँच सदस्य छानबिन समितिले आइतबारदेखि काम थालिसकेको छ । जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाका एक÷एक जना सदस्य छन् । टोलीले नेपालगन्जबाट छानबिनको काम सुरू गरेको छ । यो टोलीलाई घटनाबारे अध्ययन गरी दस दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

भएको के थियो ?
सुर्खेतका विजयविक्रम शाहलाई आपराधिक लाभ मुद्दामा जिल्ला अदालतले पाँच वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो ।
त्यस्तै सुन्दर हरिजन (चमार) लाई दुइटा मुद्दा थिए । एउटा ‘चोरी’ र अर्को ‘नकदजनी’ (मोबाइललगायत सामग्री चोरी) मुद्दामा दोषी ठहर गरेर उनलाई सजाय तोकिएको थियो ।
जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरका अनुसार बाँके जिल्ला अदालतले सुन्दरलाई पहिलो मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तोकेको थियो । त्यस्तै अर्को मुद्दामा ३ महिना कैद र ५० हजार जरिवानाको तोकेको थियो । त्यही फैसला कै आधारमा सुन्दर २०७६ भदौ १६ गते पक्राउ पछि कारागार चलान भएका थिए । सुन्दरले जरिवाना तिरेका थिएनन् । जसले गर्दा उनी २०७७ असोज २३ गते जेलमुक्त हुनुपर्दथ्यो । सुन्दर जेलमुक्त नहुँदै अर्को मुद्दा जोडियो । २०७५ माघ महिनाको आदेशले २०७७ असोज २३ गतेदेखि नै लागु हुने गरी थप ३ महिना कैद र ५० हजार जरिवाना हुने भयो ।
जरिवाना बुझाएको भए सुन्दर २०७७ पुस २३ गते जेलमुक्त हुने थिए । उनले जरिवाना बुझाउन सकेनन् । जरिवाना नबुझाउँदा पनि सुन्दर २०७८ असार १० गते जेलमुक्त हुन्थे ।
सुन्दर र शाहको स्थानान्तरण २०७७ मंसिर ८ गते नै रोल्पा कारागारमा भइसकेको थियो ।
नेपालगन्जका जेलर सोनकरका अनुसार त्यसैले यो घटना उनी आउनुभन्दा पहिलेकै हो । सोनकर २०७७ पुस ७ गते मात्रै सरूवा भएर बाँके पुगेका थिए ।
त्यसको महिना दिनअघि नेपालगन्ज कारागारमा देवेन्द्र श्रेष्ठ जेलर थिए । उनी बढुवा भएर अहिले उपसचिव भएका छन् । अहिलेका जेलर सोनकरका अनुसार कागजातका आधारमा उतिखेर ४ जना कैदी बन्दीले रोल्पा जिल्ला कारागारमा सरूवाको लागि माग पत्र पेश गरेका थिए । तीमध्ये विजयविक्रम शाह र सुन्दर हरिजन (चमार)को मात्रै २०७७ मंसिर ८ गते रोल्पा कारागारमा स्थानान्तरण भएको थियो । विभागबाट सरूवा पत्र असोजमा आएको भए पनि मंसिरमा मात्रै उनीहरूलाई रोल्पा पठाइएको थियो । कारागार व्यवस्था विभागबाट रोल्पा कारागारमा ठाउँ अभाव भएको पत्रका आधारमा दुई जनाको मात्रै सरूवा भएको देखिन आएको जेलर सोनकरले जानकारी दिए । त्यसैले तत्कालीन जेलर श्रेष्ठ कै पालामा शाह र हरिजनको सरूवा भएको स्पष्ट हुन्छ ।
त्यसपछि रोल्पा कारागार प्रशासनको ठूलो कमजोरी वा मिलेमतो स्पष्ट हुन्छ । जतिखेर रोल्पाको जेलर कमला घिमिरे थिइन् । उनी सुब्बा तहकी कर्मचारी हुन् । सुन्दरको नाममा विजयलाई जेलमुक्त गर्ने काम उनकै पालामा भएको हो । घिमिरेको अहिले सरूवा भइसकेको छ ।
‘विजयविक्रम शाहले सुन्दर हरिजन चमारलाई केही प्रलोभनमा पारेर सुन्दरको ५० हजार जरिवाना आफैं जिल्ला अदालत बाँकेमा बुझाएर आफू नै सुन्दर हुँ भनी झुठा विवरण पेस गरेर २०७७ पुस २३ गते छुटेको देखिन्छ,’ जेलर सोनकरले भने, ‘सुन्दर हरिजन बनेर विजयविक्रम शाह रोल्पाबाट बाँकेसम्म पुग्दासम्म तत्कालीन जेलर प्रशासनले किन थाहा पाएन भन्ने सवाल गम्भीर रूपमा खडा भएको छ ।’

नेपालगन्ज उपमहानगरपालिकाद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुको पदस्थापनाका दिन नेपालगन्ज उपमहानगरपालिका गेटमा न्यायको लागि प्रदर्शन गर्दै समिति
फोटोः सत्यमखबर डटकम


छानबिन समितिले काम सुरू गरेपछि केही तथ्य फेला पारेको एक अधिकारीले जनाएका छन् ।
सुन्दरसँगै चोरी मुद्दामा पक्राउ परेका अर्का एकजना किशोर फेरि अर्को मुद्दामा पक्राउ परेको हुँदा धेरै कुरा सोधपुछ गरी पत्ता लगाइएको स्रोतले बतायो । ती किशोरको बयानअनुसार विजयविक्रम शाहसँग उनीहरूको जेलभित्रै चिनजान भएको थियो ।
‘चिनजानपछि सुन्दर विजयसँग यति प्रभावित भए कि बिहान उठेदेखि नै उनी विजय कहाँ पुगिहाल्थे भन्ने छ,’ स्रोतले भन्यो, ‘विजयले नै सुन्दरको खाजा नास्ताको पैसा तिर्ने गरेको ती किशोरको बयानले खुल्यो ।’
विजयले प्रभाव र प्रलोभनमा पारेर सुन्दरको नाममा आफू बाहिर निस्किएको देखिन आए पनि यसमा कारागार प्रशासन तथा कर्मचारीको कमजोरी र संलग्नताको खोजी हुने स्रोतले बतायो । ‘मेरो कैद यत्तिसम्म हो भन्ने कुरा त सुन्दरलाई थाहा हुनुपर्ने र उसले कारागार प्रशासनलाई त्यसबारे भन्नु पर्ने थियो,’ जेलर सोनकरले भने, ‘यहाँनेर त कारागार प्रशासन पनि चुकेको देखिन्छ ।’
सुन्दर र विजयले आपसमा नाम परिवर्तन गरेको पनि हुन सक्ने उनले अनुमान गरे ।
‘योभन्दा अगाडि हाम्रो फोटो टाँसेर पठाउने सिस्टम थिएन,’ उनले भने, ‘सरूवा पत्रमा फोटो टाँसेर पठाएको भए यस्तो कमजोरी हुँदैन थियो कि ।’
रोल्पा कारागारमा दुई कैदी स्थानान्तरण हुँदा त्यहाँका कार्यालय सहयोगीले बुझेको अभिलेख फेला परेको छ । अदालतको कैदी पूर्जीअनुसार नै रेकर्ड राख्ने हुँदा त्यहीबेला विजयले सुन्दरलाई प्रलोभनमा पारी नाम परिवर्तन गराएको हुन सक्ने उनले आशंका गरे । सुन्दर हरिजनको दाइले कार्यालय सहयोगीको खातामा आइएमई गरेको तथ्य पनि फेला परेको उनले बताए ।
‘कार्यालय सहयोगीले त्यो बुझ्न सक्थे कि सुन्दर हरिजनलाई पठाएको पैसा विजयविक्रम शाहले किन बुझिरहेको छ भनेर ? यहाँनेर पनि ठूलो आशंका गर्ने ठाउँ छ,’ छानबिन समितिका एक अधिकारीले भने, ‘सुन्दर हरिजन पुस २३ गते छुटिसकेको कुरा किन कार्यालय सहयोगीले ख्याल नगरेका हुन् ? भन्ने प्रश्न खडा भएको छ ।’
लागुऔषधको मुद्दामा लखनऊको जेलमा रहेका एक दम्पतीले यहाँनेर भूमिका खेलेको देखिएकाले उनीहरूलाई नेपाल ल्याएर अनुसन्धान गर्ने तयारी भइरहेको ती अधिकारीले बताए ।
पहिला त्यो दम्पतीले सुन्दरलाई पैसा पठाइरहेका थिए । पछिल्लो समय पैसा पठाउन छोडेपछि सुन्दरले अब म फस्छु भन्ने लागेर आत्महत्या गरेको हुनसक्ने पाटोबाट पनि अनुसन्धान हुने ती अधिकारीले बताए । (साभारः सेतापाटी अनलाईनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *