
काठमाण्डौ, १३ भाद्र – उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई संक्रमण भएकाले दुबै मन्त्री आइसोलेसनमा बसेका हुन् ।

‘उहाँहरू दुबै जना छाउनी गइरहनुहुन्छ । भित्र–बाहिर गर्ने एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भयो,’ स्रोतले भन्यो, ‘आजै थाहा भएकाले होम आइसोलेसनमा बस्नुभएको छ । अब पिसिआर परिक्षण पनि हुन्छ होला ।’
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि सरेको छ ।
भदौ १३ गतेका लागि तय भएको बैठक पोखरेल र थापा कै कारण १८ गते बस्ने भएको छ ।
यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल होम आइसोलेसनमा बसेका कारण बैठक १३ गतेका लागि बोलाइएको थियो ।
बैठकमा नेकपा विवाद समाधानको सुझाव दिन गठित कार्यदलको प्रतिवेदनबारे छलफल हुने भनिएको थियो । (सेतोपाट)
