Tuesday, October 22सत्यम खबर
Shadow

महानगरमा बालेन शाहको अग्रता कायम

काठमाण्डौ, १ जेष्ठ – काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेका पाँच वटै वडा हरेकमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेल शाहले अग्रता लिएका छन् । अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन् ।


कुन वडामा कसले कति मत पाएका छन् ?
यी पाँचै वडामा २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए । यसपालि ३२ वडामध्ये भित्री नेवार वस्ती बाहेकका २० वडामा बालेन शाहको जबरजस्त आकर्षण देखिएको सेतोपाटीले लेखेको थियो ।
वडा नम्बर १ मा बालेन ५ सय ५० मतसहित पहिलो स्थानमा छन् । ३ सय ५० मतसहित नेपाली काँग्रेसकी सिर्जना सिंह दोस्रो र २ सय ७३ मतसहित नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन् ।
यसअघिको निर्वाचनमा यो वडामा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मतसहित विजयी भएका थिए । वडा नम्बर एकमा नक्साल, नारायणहिटी क्षेत्र पर्छन् ।
यस्तै २ नम्बर वडामा पनि ५ सय ५७ मतसहित बालेनलै नै अग्रता लिएका छन् । उनलाई स्थापितले ३ सय ५१ मतसहित पछ्याइरहेका छन् । काँग्रेसकी सिर्जना सिंह २ सय चार मतसहित तेस्रो स्थानमा छिन् । यसअघि यहाँ एमालेका राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भएका थिए । उनले एक हजार ८ सय ४० मत ल्याएका थिए । यो वडामा लाजिम्पाट क्षेत्र पर्छ ।
यसैगरी वडा नम्बर ३ मा पनि अग्रता लिएका बालेनले ३ सय ४९ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले २ सय ८४ मत ल्याएकी छन् र स्थापितले २ सय ८ मत ल्याएका छन् । यसअघि यो वडामा एमालेका दिपक केसी ३ हजार ६२ मतसहित विजयी भएका थिए । यो वडामा भने महाराजगञ्ज, बाँसबारी क्षेत्र रहेका छन् । वडा नम्बर ४ मा पनि ५ सय ६३ मतसहित बालेन नै पहिलो स्थानमा छन् ।


दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितको २ सय ८१ र तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जनाले २ सय ६४ मत पाएकी छन् । यसअघि यहाँ एमालेकै मोहनबहादुर विष्ट वडाध्यक्षमा विजयी भएका थिए । यो वडामा चण्डोल, बालुवाटार, विशालनगर र धुमबराही क्षेत्र रहेका छन् ।
यस्तै ३२ नम्बर वडामा पनि अग्रता लिएका बालेनले ५ सय ८२ मत प्राप्त गरेका छन् । ३ सय दुई मतसहित स्थापित दोस्रो र २ सय ५७ मतसहित सिर्जना तेस्रो स्थानमा छिन् ।
यो वडामा यसअघि एमालेकै नवराज पराजुली निर्वाचित भएका थिए । उनले ५ हजार ८ सय ७९ मत पाएका थिए । यो वडामा महानगरका कोटेश्वर, जडिबुटी र पेप्सिकोला क्षेत्र पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *