
वीरगन्ज, १३ भाद्र – वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो । यस्तै वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको डा. चौरसियाले बताए ।
उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो । ती पुरुष एचआइभी संक्रमित पनि रहेको अस्पतालले जनाएको छ ।
यस्तै शुक्रबार राती नै अर्का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयरबाट रिफर भएर काठमाडौं लाने क्रममा उनको बाटो मै मृत्यु भएको हो ।
परिवारले पुरुषको मुग्लिङ नपुग्दै मृत्यु भएको अस्पताललाई जानकारी गराएका छन् । मृतक तीन जना कै शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।
