
जानकी, १९ वैशाख – नेपाली कांग्रेसका तर्फबाट बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष पदका उमेदवार छब्बन खाँ र उपाध्यक्ष पदका उमेदवार रामप्यारी यादव यतिबेला जानकी गाउँपालिकावासीको घरदैलोमा ब्यस्त हुनुहुन्छ । आगामी वैशाख ३० गते हुने स्थानीय चुनाव नजिकिँदै गर्दा जानकी गाउँपालिकामा कांग्रेसका उमेदवारले आचारसंहिताको पालना गर्दै जनतासँगको भेटघाटलाई तीव्रता दिइरहनु भएको हो ।

चुनाव हुन ११ दिन बाँकी रहँदा छब्बन खाँ, रामप्यारी यादव लगायतको टोलीले जनताका समस्यालाई आत्मसाथ गर्दै जनताको नेतृत्व नै कांग्रेसको नेतृत्व हो भन्ने विश्वास दिलाउन लागि परेको बताउनुभएको छ ।
आज सोमबार जानकी गाउँपालिकाको वडा नम्बर ३ मा जनतासँगको भेटघाटका क्रममा अध्यक्षका उम्मेदवार खाँले यसपटक नयाँ नेतृत्वलाई हेर्न चाहेको प्रतिक्रिया आएकाले जनताको पुर्ण साथ र समर्थन पाएको बताउनुभयो ।
नेपालगन्ज उप–महानगरपालिकासँग जोडिएको पालिका भएता पनि जानकी गाँउपालिका सोचेअनुसारको विकास हुन नसकेकाले यहाँका आवश्यक विकासमा पहलकदमी लिने बताउनुभयो । अबको ५ वर्ष जनताका समस्यालाई सम्बोधन गर्ने उहाँको प्रतिवद्धता छ ।
उपाध्यक्ष पदका उमेदवार यादवले महिलाहरुको समस्या सम्बोधन गर्नका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ । भेटघाटका क्रममा वडा नम्बर ३ का वासीले नेपाली कांग्रेसलाई समर्थन गर्ने बताएका छन् ।