Sunday, April 26सत्यम खबर
Shadow

सानो छतमा तरकारी फलाउन मन छ ? ‘कौसी–बारी’ ले गरिदिन्छ व्यवस्था

नेपालगन्ज, १२ भाद्र – लकडाउनका कारण बजारमा राम्ररी तरकारी आपूर्ति हुन सकेको छैन । एकातिर फलेका तरकारी ढुवानी हुन नसक्दा खेतबारीमै कुहिने अवस्था आइलागेको छ । अर्कातिर आइपुगेका तरकारी पनि भाउ आकासिएर छोइसक्नु छैन ।
लकडाउनले भातभान्छा नै रोकिने अवस्था सिर्जना भइरहका बेला तीन युवाहरू कौसी–खेतीबारे अभिमुखीकरण गर्दै हिँडेका छन् ।

कौसी–बारीको टनेलमा रोपिएका तरकारीमा पानी हाल्दै । तस्बिर सौजन्यः कौसी–बारी


कौसी हराभरा हुने, आफ्नो कोठाकुनाबाट हरियाली देख्न पाइने, आफ्नै बारीको तरकारी टिपेर खान पनि पाइने । गजबको उपाय पहिल्याएका छन् उनीहरूले ।
उनीहरूले कौसी–खेतीबारे जानकारी मात्रै दिँदैनन् । अभियान ‘एग्रो’ नै चलाएका छन् जसमार्फत् छतमा खेती गर्न टनेलसहितको बारी व्यवस्थापन गरिदिन्छन् । मौसमी–बेमौसमी खेती गर्ने उपाय सुझाइदिन्छन् ।
यो अभियानमा २८ वर्षीय सुवास पण्डित, ३१ वर्षीय बिर्खबहादुर पुन र राजन थापा जोडिएका छन् । उनीहरूलाई रामजी ढकाल र यदुकुमार उप्रेतीले प्राविधिक सहयोग गर्दै आएका छन् ।
‘कौसी–बारी भनेर हामीले ३ वर्षयता अभियान चलाइरहेका छौं,’ कौसी–बारीमा व्यवस्थापकीय पाटो सम्हालिरहेका बिर्ख भन्छन् ‘काठमाडौंमा कौसी–खेती सम्भावना धेरै छ । तर घरधनीले थाहा पाएर हो वा बेवास्ता गरेर, उपयोग गर्न सकिरहेका छैनन् ।’

बायाँबाट क्रमशः बिर्खबहादुर पुन, सुवास पण्डित र राजन थापा । तस्बिर सौजन्यः बिर्खबहादुर पुन


काठमाडौंमा धान फल्ने फाँटमा घर भरिएका छन् । खेती गर्ने जमिन खासै छैन । यस्तोमा कौसी–खेती प्रभावकारी हुन्छ । तर एकाधले मात्रै कौसी हराभरा बनाएका छन् । त्यो पनि प्लास्टिकका झोला, ड्रम वा गमलामा परम्परागत शैलीबाटै हुन्छ ।
त्यसैले अब यो परम्परागत तरिकामा भिन्नता ल्याएर उत्पादन बढाउन जरूरी भएको बिर्खको ठहर छ । यसनिम्ति कौसी–बारी कम्पनीले आधुनिक र सहज टनेल बनाएर बिक्री गरिरहेको उनी बताउँछन् ।
उनका अनुसार कम्पनीले ४ फिट चौडाइ र १० फिट लम्बाइ तथा ६ फिट लम्बाइ र ५ फिट चौडाइका दुई आकारका टनेल बिक्री–वितरण गरिरहेको छ ।
‘ठूलो टनेलको २५ हजार पर्छ भने सानोको २० हजार मूल्य निर्धारण गरेका छौं,’ टनेलबारे बताउँदै बिर्ख भन्छन्, ‘टनेलको फ्रेम फलामको हुन्छ । माटो राख्ने तल्लो सतहले घरको छतलाई छुँदैन । यसले गर्दा छतमा माटोले केही समस्या पार्दैन । अनि यो टनेलको १० वर्ष ग्यारेन्टी दिन्छौं ।’
स्थापनाको एक वर्षमा कम्पनीले ललितपुर कृषि विज्ञान केन्द्रको सहयोगमा ३० वटा र १० वटा आफैंले गरी ४० वटा टनेल स्थानीयको छतसम्म पु¥याइसकेको बिर्ख बताउँछन् । उनका अनुसार टनेल खरिदमा माटो, मल र १० थरी तरकारीका बीउ पनि कम्पनीले नै उपलब्ध गराउँछ । त्यसले मनग्गे उत्पादन पनि दिन्छ ।


‘सानो टनेलमा १० किलो, ठूलो टनलेमा १५ किलो प्रांगारिक मल कम्पनीले दिन्छ । साथमा रायो, मुला, गाजर, लसुन, प्याज जस्ता सिजन अनुसारका तरकारीको बीउ पनि पाइन्छ,’ बिर्खले भने, ‘टनेलमा थोपा सिँचाइ प्रविधि हुन्छ । यो किसान र बिरुवा दुवैका लागि फाइदाको विषय हो ।’
कतिपयले टनेलमा सुरूआती लगानी महँगो भएको प्रतिक्रिया पनि नदिएका होइनन् । किनेर खाइरहने मान्छेलाई वा गमलामा रोपिरहेका मान्छेलाई एक्कासि २०–२५ हजार किन खर्च गर्ने, किन खेती गर्ने भन्ने प्रश्न पनि उठ्छ ।
‘सामान्य सोच्दा, उत्पादनले मानिसलाई खुसी दिन्छ । आज कोपिला भोलि फुल्छ । पर्सि फल लाग्न थाल्छ,’ उनी भन्छन्, आउने पिँढीमा काम गर्ने बानी र संस्कार बसाउन सजिलो हुन्छ । काठमाडौं जस्तो ठाउँमा बालबच्चालाई फल फलेको देखाउनु पनि ठूलो कुरा हो ।’
मुख्य फाइदाको कुरा गर्दा आर्थिक बचत नै भएको बिर्ख बताउँछन् । ग्राहकको जिज्ञासा सुन्दै कम्पनीले वार्षिक तरकारी खरिदमा हुने खर्च विवरण देखाएर स्पष्ट पारिदिन्छ ।
‘चार जनाको परिवारले तरकारीमा दिनको २ सय मात्र खर्चिँदा पनि वर्षमा ७२ हजार खर्च भइरहेको हुन्छ । यो नजरअन्दाज गरेर २५ हजारको मुख हेर्नु भएन,’ उनी आम्दानी–खर्चको विवरण सम्झाउँदै भन्छन्, ‘टनेलमा आलोपालो खेती गर्दा वर्षभरी तरकारी नकिने पनि पुग्छ ।’
उनी थप्छन्, ‘टनेल भएपछि बेमौसमी खेती गर्न पनि सकियो । २५ हजार मात्रै होइन वर्षभरीको खर्च हिसाब गरौं । आपतकालको हिसाब गरौं । दिनदिनै तरकारी महँगिदा हुने हैरानीको पनि हिसाब गरौं । अनि वातावरणको पनि सोचौं ।’
तरकारी मिलाएर लगाउँदा रोग लाग्ने सम्भावना कम भई उत्पादन बढी हुने विज्ञानले पनि प्रमाणित गरिसकेको छ । ताजा र विषादी रहित तरकारी खान पाउनु नै अहिलेको ठूलो उपलब्धि हो भन्दा फरक नपर्ला ।
यसरी यी तीन युवा घरघरमा तरकारी फलाउन कसरी हौसिए त ? उनीहरूको कथा पाँच वर्षअघि सुरू भएको हो ।


सिन्धुपाल्चोक आसपास विभिन्न प्रोजेक्टमा काम गर्दा यी तीनजना एउटै कोठामा बस्थे । अनेक सोचहरू दिमागमा फुरिरहन्थ्यो ।
‘पाँच वर्षअघि अहिले हामी बोर्डमा रहेका ३ जना साथी भेट भएका थियौं । एनजिओ, प्रोजेक्टमा काम गर्दै सिन्धुपाल्चोकका धेरै ठाउँ पुगेका थियौं । केही वर्ष मानव संसाधनमा काम गरेपछि आफैंले व्यवसाय सुरू गर्नुपर्छ भन्ने लाग्यो,’ बिर्ख सुरूवाती दिन बताउँछन् ।
उनीहरू काठमाडौंबाट नजिकै सिन्धुपाल्चोक घुम्न निस्किएका थिए । मेलम्ची, हेलम्बुलगायत पर्यकटीय गन्तव्य छिचोल्ने रहर थियो । त्यति मात्र होइन, ती ठाउँमा सम्भव भए रिर्सोट नै खोल्ने योजना थियो । र, सम्भाव्यता अध्ययनजस्तो पनि थियो त्यो भ्रमण ।
‘अर्गानिक फार्मसहितको कटेज खोल्ने मनसाय थियो । अध्ययनकै क्रममा धेरै शुभचिन्तकले उपयुक्त नभएको सुझाव दिए,’ त्यति बेलाको क्षण सम्झन्छन् उनी, ‘बल्लबल्ल कमाएको पैसा लगानी गर्ने ठाउँ राम्रो नभए फस्ने देखिएपछि त्यो योजना त्याग्यौं ।’
त्यसपछि फर्किएर पनि उनीहरूले कुखुरा पालनमा सम्भावना देखे र काम सुरू गरे ।
‘आफ्नै व्यवसाय त गर्ने, तर के गर्ने भन्ने सन्दर्भमा हामीले कृषि नै देख्यौं । कृषिप्रधान देश भनिए पनि यो यो क्षेत्रमा उल्लेख्य केही हुन सकेको थिएन,’ उनी भन्छन्, ‘हामीले आफ्नो तर्फबाट अध्ययन अनुसन्धानमा कमी राखेनौं । आजकै साथी मिलेर सिन्धुपाल्चोक भोटेचौरमा अन्डा उत्पादन सुरू गयौं ।’
यो ३ वर्ष अघिको कुरा हो ।
३० लाख रूपैयाँ लगानी गरेर उनीहरूले भोटेचौरमा अन्डा उत्पादन सुरू गरे । त्यसका लागि ५ हजार कुखुरा हालेका थिए । केही समय राम्रो भयो । पहिलो वर्ष नाफामा पनि गयो। मासिक दुई लाख त नाफै हुन्थ्यो । बिस्तारै बिचौलिया हाबी हुन थालेपछि उत्पादनले बजार पाएन ।
‘बिचौलिया प्रवृत्ति सुनेका थियौं, यसपालि हामी नै बिचौलियाको मारमा प¥यौं,’ उनी हाँस्दै सुनाउँछन्, ‘त्यसपछि हामी त्यहाँँबाट विस्थापित भएर अभियान एग्रोमा जोडिएका हौं ।’
आफैंले कार्यालय स्थापना र उत्पादन गरेर देखाउनुपर्छ भन्ने योजना थियो । व्यवस्थित अफिस खोज्दाखोज्दै कोरोना महामारी र लकडाउन सुरू भइहाल्यो । केही दिनयता लाजिम्पाटमा कार्यालय स्थापना गरेका छन् । छतमै टनेल राखेर उत्पादन गरिरहेका छन् ।
‘पछिल्लो समयमा फेसबुक मार्केटिङ गरिरहेका छौं । लकडाउन खुलेपछि ८ ठाउँमा त्यस्ता टनेल सेट ग¥यौं । माग बढिरहेको छ,’ उनी अन्तिममा सुनाउँछन्, ‘तीजको अवसर पारेर ५ प्रतिशत छुट व्यवस्था पनि ग¥यौं । दसैंमा पनि गर्नेछौं । अरू–अरू योजना पनि ल्याउने तयारी छ ।’
लकडाउनमा मानिसहरूलाई आफैंले उत्पादन गरौं भन्ने विचार पलाएको बुझ्दा आफूहरूको हौसला झनै बढेको उनी बताउँछन् । सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *