Wednesday, April 22सत्यम खबर
Shadow

नेपालगन्ज साक्षर नगर घोषणा

नेपालगन्ज, ८ बैशाख – नेपालगन्ज उप–महानगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । बिहिबार आयोजित औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव र नगर प्रमुख डा. धवलशम्शेर राणाले नगरलाई साक्षर घोषणा गर्नुभयो ।
नगर प्रमुख राणाले लामो समयको प्रयासपछि नगरलाई साक्षर घोषणा गरिएको भन्दै साथ दिने सबैप्रति आभार प्रकट गर्नुभयो ।


जिसस संयोजक श्रीवास्तवले ५ वर्षको प्रयत्न अन्तिम समयमा सफल भएको भन्दै नेपालगन्ज साक्षर घोषणा हुने सातौं स्थानीय तह भएको बताउनुभयो । नेपालगन्ज साक्षर भएपछि जिल्ला भरमै उत्साह छाएको उहाँको भनाई छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपसचिव गोर्खबहादुर थापाले २०७६ देखि सुरु भएको साक्षरता अभियान अहिले सफल भएको बताउनुभयो । दुईवर्ष अघि घर दैलोमार्फत संकलन गरिएको तथ्यांक अनुसार १५ देखि ६० वर्ष उमेर समूहका करिब २३ प्रतिशत निरक्षर रहेकोमा साक्षर अभियानपछि निरक्षरहरुको संख्या ५ प्रतिशत भन्दा कममा झरेको जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा समन्वय ईकाईका प्रमुख रामसुरेश यादव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धीसागर सुवेदी नगर शिक्षक महासंघका अध्यक्ष मनोजराजा श्रीवास्तव लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *