Monday, April 20सत्यम खबर
Shadow

गौघाट शनिबारदेखी रनिङ शिल्ड हुँदैं, १६ विद्यालयका ४१८ खेलाडीले प्रतिस्पर्धा गर्ने

नेपालगन्ज, २७ फागुन – चौथो खजुरा गाउँपालिका अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ ।
शनिबारदेखी सुरु हुने रनिङ शिल्डमा खजुरा क्षेत्रका १६ विद्यालयले भाग लिने आयोजकले बताएको छ । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजना र योगिनी माविको व्यवस्थापनमा हुने प्रतियोगिता फागुन २८ देखी ३० गते सम्म चल्नेछ ।


योगिनी मावि गौघाटको खेल मैदानमा हुने प्रतियोगितामा १५ इभेन्ट्स समावेश गरिएको छ । प्रतियोगितामा १८ वर्ष मुनिका १ सय ६६ छात्रा र २ सय ४१ टात्र गरी ४ सय १८ जना खेलाडीले भाग लिनेछन ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले पालिका स्तरीय रनिङ शिल्डले खजुराको खेलकुद स्तर माथि उकास्न महत्वपुर्ण प्रतियोगिताका रुपमा स्थापित हुँदै गएको बताए । उनले भने,‘प्रतियोगिता सुरुआत गर्दा हामीलाई यो सफल हुन्छ कि हुँदैन भनेर चिन्ता थियो । चौथो संस्करणबारे पत्रकार सम्मेलन गर्न पाउँदा खुसी लागेको छ ।’
२० लाख कुल बजेट रहेको रनिङ शिल्ड आयोजनामा गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । आवश्यक अपुग रकम पालिकाले व्यवस्था गर्ने अध्यक्ष कक्षपतिले बताए ।
उनले भने, ‘प्रतियोगिता आयोजनाको बारेमा छलफल हुँदा स्थानीय विद्यालयलाई केहि आर्थिक भार परेको कुरा आएको छ । त्यसमा हामीले गम्भिर भएर छलफल गरेका छौं । आयोजक विद्यालयका लागी यो एउटा अवसर पनि हो । यति बेला विद्यालयले भौतिक पुर्वाधार लगायत अन्य कुराको विकास गर्ने प्रयास पनि गरेको हुन्छ । तर अब हामी रनिङ शिल्ड आयोजना गर्न लाग्ने रकम पालिकाबाट बिनियोजन गरेर काम गर्ने योजनामा छौं ।’


फागुनको ३० गते सम्म चल्ने प्रतियोगितालाई सफल बनाउन अध्यक्ष कक्षपतिको नेतृत्वमा ३ सय १ मुल आयोजक समिति गठन गरिएको छ । व्यवस्थापनलाई प्रभावकारी बनाउन र सहज बनाउन उद्घाटन समारोह, अतिथि सत्कार, जुरी अफ अपिल, मञ्च व्यवस्थापन, उदघोषण, पुरस्कार, स्वंयसेवक परिचालन, प्राविधिक तथा फिल्ड निर्माण, भोजन तथा आवास, प्रचार–प्रसार र प्राथमिक तथा स्वास्थ्य सेवा उप(समिति गठन गरिएको छ । खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लको संयोजकत्वमा सचिवालय स्थापना गरिएको छ ।
प्रतियोगितालाई अब नतिजा मुलक बनाउने तर्फ ध्यान दिने बेला आएको शिक्षा क्षेत्रका विज्ञ भक्त बहादुर केसीले बताए । उनले भने,‘पक्कैं पनि अब हामीले नतिजालाई प्रभावकारी बनाउने बेला आएको छ । जिल्ला स्तरको रनिङमा खजुराले राम्रो नतिजा निकाल्नको लागि अब प्रतियोगिता सकिएपछि विशेष टिम बनाउने तयारी गर्नुपर्छ ।’
शुक्रबार भएको पत्रकार सम्मेलनमा खजुरा गाउँपालिकाका राजनितिक सल्लाहाकार भीम ओली, योगिनी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिम बहादुर पुन, योगिनी माविका प्रअ गगन खड्का लगायतले प्रतियोगितालाई भव्य बनाउनु पर्नेमा जोड दिएका थिए ।
खेल अवधिभर खेल मैदानलाई व्यवस्थित गर्न अरुणोदय मावि खजुराका प्रअ ऋषिकेश जिसीलाई फिल्ड मार्शल तोकिएको छ । सुरक्षा समितिले सुरक्षा प्रबन्धका लागि नेपाल प्रहरीको सहकार्यमा सुरक्षा व्यवस्थालाई भरपूर बनाइएको छ ।
खजुरा गाउँपालिका मिश्रित जातजाति र धर्मावलम्वीहरुको बसोवास क्षेत्र रहेकोले धार्मिक सद्भावको प्रतिकको रुपमा मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिताको लोगोमा विविध धर्मका धार्मिक स्थलहरु अंकित गरिएको छ ।
यसैगरि प्रतियोगिता सञ्चालन गर्ने बिद्यालय क्षेत्रको हरित सिर्जना सामुदायिक वनमा पाईने जनावर नीलगाईलाई प्रतिक चिन्ह मस्कटको रुपमा राखिएको छ । शिक्षा, स्वास्थ्य र खेलकूद एकअर्काका परिपूरकका रुपमा रहेकाले विविध जातजातिको बसोवास रहेकाले प्रतियोगिताको उद्घाटन शत्रमा बिभिन्न भेषभुषा र संस्कृतिले सजिएका झाँकी प्रस्तुत गरिने सचिवालय संयोजक खगेन्द्रबहादुर मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *