Sunday, April 12सत्यम खबर
Shadow

जुद्ध शम्शेर राणाको प्रतिमासँग पक्षपात कहिल्यैसम्म ?

नेपालगन्ज, १६ फागुन – नेपालको विकासको लागि विभिन्न योगदान दिएका पूर्व प्रधानमन्त्री जुद्ध शम्शेर राणाको प्राचीन प्रतिमासँग नेपालगन्ज उमनपा कार्यालय दशकौंदेखि पक्षपातपूर्ण रवैया अपनाउँदै आएको देखिन्छ । विगत दिनदेखि नेपालगञ्ज उमनपाका नगरपिता डा. धवलशम्शेर राणाले हामी ऐतिहासिक धरोहरहरुको संरक्षण संवद्र्धन गर्दै आएको कुरा भन्दै आउनु भएको छ उहाँको यस्तो भनाई फितलो साबित हुँदै आएको छ ।


तत्कालीन पूर्व प्रधानमन्त्री जुद्ध शम्शेर राणाको कार्यकाल वि.सं. १९८९ देखि २००० भाद्र १७ सम्म रहेको इतिहास छ । उहाँको कार्यकालमा देशको आर्थिक सुधार कार्य, कृषि क्षेत्रको विकासको लागि विदेशबाट विशेषज्ञ बोलाइएको त्यस्तै औद्योगिक क्रान्ति ल्याउन वीरगंजमा जुट मिल, वीर अस्पताल, साबुन कारखाना, जनतालाई स्वास्थ्य सेवा सरल सुगम ढंगबाट दिन अन्य विभिन्न अस्पतालहरु निर्माण, पशु चिकित्सालयहरुको स्थापना, क्षयरोग नियन्त्रणको लागि क्षयरोग अस्पताल, देशमा पक्की सडक निर्माण गर्ने जसमा विराटनगर सप्तरी धरानको सडक राजधानीसम्म जोडिएको, सैनिक स्कूल निर्माण, पत्रमा हुलाक टिकट टाँस्ने व्यवस्था, जनताको जनगणना अभियान, सूचना र मनोरंजन जनतासम्म पुगाउन रेडियो राख्न पाउने व्यवस्था, जनतालाई सुसूचित बनाउन शारदा नामक पत्रिकाको प्रकाशन गराउने लगायत कार्य पूर्व प्रम जुद्ध शम्शेर राणाबाट भएको उल्लेख पाइन्छ ।
नेपालगन्जमा अस्पताल र जुद्ध मिटिल स्कूलको स्थापना पनि उहाँले नै गराउनु भएको थियो । नेपालगन्ज शहरको स्थापनाका लागि ३६ फिट फराकिलो सडक निर्माण गराई यहाँ ३६५ वटा कोठी निर्माण गराइ नागरिकलाई उपलब्ध गराइएको थियो । नेपालगन्ज शहरलाई लखनऊको अमीनाबाद जस्तै बनाउने सोच राखी उहाँले आफ्ना विश्वासपात्र व्यक्ति सुब्बा पद्मनाभ उपाध्यायलाई लखनऊ पठाई त्यहाँको वास्तु स्थिति अध्ययन गराई उपाध्यायबाट शहरको निर्माण गर्ने अहम भूमिका निर्वाह उहाँले गर्नु भएको थियो ।
नेपालगन्जमा उहाँले केही सरकारी कोठीको निर्माण, रानीतलाउ परिक्षेत्रमा लोकभक्तेश्वर शिव मन्दिर निर्माण कार्यमा सहयोग पुर्याउनु भएको थियो । त्यस्तै ३६ फिट फराकिलो सडक निर्माण, सीमा क्षेत्रको रुपैडिहा साकेत नगरमा रेलवेको नाम नेपालगञ्ज रोडको नामाकरण गराउने लगायत कार्य उहाँको कारण नै भएको थियो । गंज नाम उहाँलाई अति प्रिय थियो जसको कारणले नै यस शहरको नाम नेपालगंज राखियो । यस्तो गंज नामको स्थान उहाँले राजधानीमा महाराजगंज, अमलेखगंज लगायत राख्न लगाउनु भयो ।
देशमा जति विकासको कार्य भयो सो कार्यहरु प्रधानमन्त्री जुद्ध शम्शेर राणाको कार्यकालमा भएकोले बुझ्न सकिन्छ कि सबै राणा शासकहरु अत्याचारी र निरंकुश प्रवृत्तिका थिएनन् । नेपालगन्जसँग उहाँले अगाध माया राख्नु भएको थियो यस कारण शिकार खेल्ने अभिप्रायले उहाँको भ्रमण पटक पटक यहाँ हुने गथ्र्याे । यसै कारण जनताको माग अनुसार वर्तमान त्रिभुवन चोकमा विगतमा पहिले उहाँको नै प्रतिमा स्थापित गरिएको थियो । यो प्रतिमा देशको ऐतिहासिक धरोहर हो ।
नेपालगन्ज शहरको विकासको लागि जति योगदान उहाँले दिनु भएको थियो त्यस्तो कार्य अन्य शासकले भने गरेर देखाउन सकेनन् । अधिकांश शासकहरु नेपालगंजका स्थानीय वासिन्दालाई दबाएर राख्न विदेशी भूमिहरु भारत, बर्माबाट नागरिक ल्याएर यहाँ बसाए । यसको उदाहरण हो सैनिक क्षेत्र जसलाई पुनर्वास क्षेत्र पनि भनिन्छ । तर जुद्ध शम्शेर राणा संधै नेपालगंजका नागरिकमाथि माया ममता बाँड्दै आउनु भएको थियो ।
हात्तीमा बसी जनताको दर्शन गर्न जब उहाँ निस्कनु हुन्थ्यो त्यस समय जनताको माथि चाँदीको सिक्का वर्षा गर्नु हुन्थ्यो यस्तो कुरा यस क्षेत्रका बुढापाकाहरुको मुखबाट सुनिँदै आएको छ तर जति जुद्ध शम्शेर राणाले जनताको हितको लागि कार्यहरु गर्नुभयो त्यस उपकारको बदला नेपालगञ्जवासीले चुकाउन सकेनन् । सधैं उहाँको प्रतिमाको अपमान गरियो । देशमा प्रजातन्त्र आएपछि उहाँको प्रतिमा वर्तमान त्रिभुवन चोकबाट हटाई कहिले तत्कालीन अंचलाधीश कार्यालयमा लगी अव्यवस्थित ढंगले फालेर राखियो कहिले तत्कालीन जिल्ला विकास समितिमा फालियो वर्तमान समय सो प्रतिमा नेपालगञ्ज उमनपा कार्यालयको कबाडखानामा फालेर अव्यवस्थित ढंगले राखिएको छ ।
यस ऐतिहासिक धरोहर प्रतिमाको संरक्षण संवद्र्धन न त विगतका प्रधानपंच, मेयरहरुले गरे न त वर्तमान समय रहनु भएका नगरपिता डा. धवल शम्शेर राणाले गर्ने साहस गरेर देखाउनु भएको छ । देशमा स्थापित रहेका विभिन्न शासकहरु चाहे जुन व्यवस्था र कालका थिए उहाँहरुको स्थापित प्रतिमाहरु देशका ऐतिहासिक धरोहर हुन् तर देशको दुर्भाग्य छ कि नेपाली जनता सो धरोहरहरुको संरक्षण सम्वद्र्धन गर्न चासो नै राखेनन् ।
जनआन्दोलन भाग २ मा त आन्दोलनकारीहरुले उच्छृंखलताको पराकाष्ठा नै पार गरे उनीहरुले शाहवंशका राजाहरु जसले देशको एकीकरणको साथै देशलाई समृद्धशाली बनाउन अतुलनीय योगदान दिनु भएको थियो उहाँहरुको प्रतिमा तोडफोड गरे यस क्रममा त्रिभुवन चोकमा स्थापित रहेको राष्ट्रपिता स्व. त्रिभुवन सरकारको प्रतिमा र धम्बोझी चोकमा लागेको राष्ट्रनायक श्री ५ वीरेन्द्र सरकारको प्रतिमासम्म तोडफोड गरर नांगो नाचको प्रस्तुति गरियो ।
यस्तो प्रकारले प्रतिमाको तोडफोड अन्य कहीं नभएको तमाम उदाहरणहरु छन् । छिमेकी देश भारतमा तत्कालीन अंग्रेज शासकहरुको आजसम्म पनि अनगिनत प्रतिमाहरु विभिन्न शहरमा स्थापित रहेको छ त्यस प्रतिमाहरुलाई भारतीय जनताले कहिल्यै पनि तोडफोड गरेको पाइँदैन । केहीहरुको प्रतिमा हटाइएको छ भने संग्रहालयमा लगेर सुरक्षित राखिएको छ । जसको अवलोकन गराउने व्यवस्था मिलाइएकोले देशलाई आर्थिक लाभ नै भई रहेको छ । नेपालका शासकहरु चाहे जुन पनि व्यवस्था र कालखण्डका थिए उहाँहरुले देशको निर्माणको साथै देशलाई समृद्धशाली नै बनाए ।
उहाँहरुको प्रतिमाको अपमान दशकौंदेखि गरिँदै आएकोले त्यस्ता ऐतिहासिक धरोहरबाट हामीले फाइदा उठाउन सकेका छैनौं । नेपालगन्ज उमनपा कार्यालयको कबाडखानामा राखिएको तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेर राणाको प्रतिमा पनि ऐतिहासिक धरोहर हो यस प्रतिमालाई नगरपिता डा. धवल शम्शेर राणाले दूरदृष्टि अपनाई सो प्रतिमाको अवलोकन नागरिकलाई गराउने व्यवस्था मिलाउनु हुन्थ्यो भने यसबाट नेगउमनपालाई आर्थिक लाभ नै मिल्ने थियो होला तर यहाँ जु पार्क, चिल्ड्रेन पार्क, क्यासिनो निर्माण गर्नेतर्फ धेरै ध्यान दिइएकोले यो शहरले ऐतिहासिकता बोके पनि यसको प्राचीन इतिहास लोप हुने अवस्थामा पुगी रहेको छ । नेपालगन्ज उमनपावासीहरुले आफ्नो ऐतिहासिक धरोहरहरुको संरक्षण संवद्र्धन गर्नेतर्फ ध्यान नदिए यो शहर आगामी समय भोगवादतर्फ मात्र लाग्नेछ यसको प्राचीन इतिहास भने लोप हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *