Monday, April 13सत्यम खबर
Shadow

स्प्रिङ डेल स्कुलले दियो अभिभावकलाई शिक्षा सम्बन्धी मोटिभेसनल तालिम

नेपालगन्ज, १२ फागुन – स्प्रिङ डेल एकेडेमी नेपालगन्जले अभिभावकलाई शिक्षा सम्बन्धी एक दिने मोटिभेसन तालिम दिएको छ ।

विद्यालयले काठमाडौंबाट मोटिभेसनल स्पिकर प्रितम पौड्याललाई डाकेर बिहीबार नेपालगन्जको कारकाँदोस्थित फोर स्टार होटल स्टार लाइटमा नर्सरीदेखि कक्षा ५ मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा मोटिभेसनल स्पिकर पौड्यालले विद्यार्थीको शिक्षा सुधार्न विद्यालय, शिक्षकसँगै अभिभावकको पनि उत्तिकै भूमिका भएको बताएका थिए । उनले भने, ‘हामीले विद्यार्थीको भविष्यका लागि विद्यालय त पठाउँछौं । शैक्षिक ज्ञानले मात्र पुग्दैन । अभिभावकले नैतिक र संस्कार नदिने हो भने त्यो ज्ञानको पनि दुरुपयोग हुनसक्छ ।’

उनले अभिभावकसँग आफ्नो सन्तानलाई नपढेको भन्दै सधैं कुट्ने र गाली गर्दा जतिसुकै राम्रो विद्यालय र शिक्षकले पढाउँदा पनि नतिजा राम्रो नआउने बताए । ‘तपाई आफ्नो सन्तानलाई आदेश दिने होइन, हौसला दिनुस् । नकारात्मक कुुरा मात्र कोट्याउने होइन । राम्रो कुराको तारिफ गर्नुस् । विस्तारै विद्यार्थीको शिक्षामा सुधार आउँछ’, उनले अभिभावकलाई आग्रह गरे, ‘तपाई जन्मदिने बाआमा हो । खत्तम छस् नभन्नुस् । तपाईले गरेको गाली पनि लाग्नसक्छ । सन्तानको प्रशंशा गर्नुस् । गल्ती गरेपछि सम्झाउनुस् । सन्तान हरेक साना साना कुरामा खुसी हुन्छन्, रमाउँछन् । उनीहरुका लागि पनि समय निकाल्नुस् ।’

सो अवसरमा अभिभावकहरुले आफूले सन्तानमाथि गरेका गल्तीबारे पश्चताप गर्दै उनीहरुको शिक्षामा सुधारका लागि समय व्यवस्थापन गर्ने प्र्रतिबद्धता जनाएका थिए । तालिममा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका २०० जना अभिभावकको सहभागिता रहेको थियो ।

स्प्रिङ डेलका प्राचार्य शरद्चन्द्र रावलले पाठ्यपुस्तकमा भएको ज्ञानसँगै विद्यार्थी र अभिभावकका लागि मोटिभेसनल कार्यक्रमहरु आयोजना गरेर प्रोत्साहन गरिरहेको बताए । उनले यसअघि पनि अभिभावक र विद्यार्थीलाई अनलाइन र प्रत्यक्ष सहभागितामा कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । केही दिनभित्रै विद्यार्थीका लागि हेन्डराइटिङ सम्बन्धी तालिम आयोजना गरिने बताए ।

एसइईका विद्यार्थीलाई पनि मोटिभेसनल तालिम
त्यसैगरी विद्यालयले एसइई दिने तयारी गरिरहेका कक्षा १० का ४२ जना विद्यार्थीलाई पनि छुट्टै मोटिभेसनल तालिम दिएको थियो । एसइईको परीक्षा नजिकिँदै गर्दा कसरी राम्रो नम्बर ल्याउन सकिन्छ भन्ने विषयमा मोटिभेसनल स्पिकर पौड्यालले विद्यार्थीलाई प्रोत्साहन गरेका थिए ।

उनले विद्यार्थीलाई भविष्यको लक्ष्यबारे विद्यार्थीसँग अन्तरक्रिया गर्दै सपना देखेपछि पूरा गर्न लक्ष्य निर्धारण गरेर योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए । ‘सपना देख्दैैमा पूरा हुँदैन । त्यसका लागि लक्ष्य निर्धारण गर्नुपर्छ । लक्ष्य पूरा गर्न योजना बनाउनु पर्छ । पक्कै सफलता मिल्छ’, उनले भने, ‘तपाईहरु कोही कसैभन्दा कम हुनुहुन्न । समय व्यवस्थापन गर्नुस् । आफैलाई अब्बल साबित गरिदिनुस् । त्यसका लागि आजैदेखि योजनाबद्ध रुपमा पढ्न थाल्नुस् ।’

पौड्यालले एसइई परीक्षाको परीक्षाको तयारी गर्दा समय व्यवस्थापन गर्नुपर्ने, समय कम भएकाले अल्छी गर्न नहुने, काम भोलि गर्छु भनेर बाहाना खोजेमा जीवनभर पछुतो गर्नुबाहेक केही नभएको बताए । स्प्रिङ डेल स्कुलले यसअघि कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई पनि मोटिभेसनल तालिम दिएको थियो ।

सो अवसरमा अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनालले विद्यार्थीलाई लेखन सीप कलाबारे प्रशिक्षण दिएका थिए । कति विद्यार्थीले जानेर पनि परीक्षामा लेख्न नसक्ने र कति विद्यार्थीले जानेर पनि राम्रो लेख्न नसक्ने भएकाले परीक्षामा राम्रो उत्तर कसरी लेख्ने भन्ने विषयमा विद्यार्थीलाई सिकाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *