Tuesday, April 21सत्यम खबर
Shadow

भिजन आँखा अस्पतालबाट ५० जना पत्रकारको निःशुल्क आँखा परीक्षण गरियो

नेपालगन्ज, २२ माघ – नेपालगन्जमा पत्रकारहरुका लागि निःशुल्क आँखा परीक्षण कार्यक्रमका साथ प्रेस चौतारी बाँकेले आफ्नो २४ औं स्थापना दिवस मनाएको छ ।

भिजन आँखा अस्पतालको सहयोग र समन्वयमा आयोजना गरिएको आँखा परीक्षणमा ५० जना पत्रकारहरुलाई निःशुल्क परीक्षण गराइएको प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकायले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. प्रचण्ड गौतमका अनुसार आँखा परीक्षण गरिएका ५० जना पत्रकारहरु मध्ये दुई जना पत्रकारमा शल्यक्रिया गर्नुपर्ने मोतिया विन्दू र एकजनालाई जलविन्दूको समस्या देखिएको छ भने १६ जना पत्रकारलाई टाढा कम देख्ने दृष्टि दोषको समस्या र १२ जनालाई नजिक कम देख्ने समस्या देखिएको छ ।

डा. गौतमले परीक्षण गरिएका मध्ये सबभन्दा बढी २७ जना अर्थात् ५४ प्रतिशत पत्रकारहरुमा आँखामा सुख्खापनको समस्या देखिएको बताउँदै आँखामा एलर्जी, परेलामा सुजन, ४ जनाको आँखामा ब्लड प्रेसर, मधुमेह रोग भएका १० जना पत्रकारहरुमा दृष्टिपर्दाको स्थिति भएको तर सामान्य अवस्थामा रहेको देखिएको जानकारी दिनु भयो ।

आँखा परीक्षणका क्रममा पत्रकारहरुले लगातार कम्युटर र मोवाइलको स्क्रिनमा हेर्ने तथ्याङ्क पनि संकलन गर्दै २३ जना अर्थात् ४६ प्रतिशत पत्रकारले दैनिक तीन घण्टा भन्दा बढी लगातार स्क्रिनमा हेर्ने गरेको र दैनिक दुई घण्टा भन्दा कम लगातार स्क्रिनमा हेर्नेहरु ११ जना रहेको पाइएको डा. गौतमले बताउनु भयो ।

अस्पतालका प्रवन्ध निर्देशक बावुतरुण गौतमले शल्यक्रिया गर्नुपर्ने पत्रकारहरुका लागि ५० प्रतिशत, चस्मामा ३३ प्रतिशत छुट दिइएको उहाँले बताउनु भयो । यस्तै चेकजाँच र औषधि भने निःशुल्क वितरण गरिएको छ । शल्यक्रियाबाट हुन सक्ने संक्रमणबाट बचाउनको लागि मोडुलर सेवा नेपाल मै पहिलो पटक शुरु गरिएको र जलविन्दूको शल्य क्रिया पनि पश्चिम नेपालमा भिजन आँखा अस्पतालमा मात्र हुने जानकारी प्रवन्ध निर्देशक बावुतरुण गौतमले दिनु भयो ।

प्रेस चौतारी नेपाल बाँकेका सचिव कमल डाँगीका अनुसार भिजन आँखा अस्पतालमा सम्पन्न आँखा परीक्षण कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. प्रचण्ड गौतमका अतिरिक्त अस्पतालका प्रविधिक तथा अन्य कर्मचारीहरु मोनिका राना क्षेत्री, एककता थापा, पूजा थापा, दिपक थारु र चुडामणि चौधरी संलग्न थिए ।

उल्लेखनीय छ, गत साता मात्र भिजन आँखा अस्पतालले नयाँ प्रविधि थपेर स्तरोन्नति गर्दै आँखाको शल्यक्रियाको लागि देश मै पहिलो पटक नेपालगन्जमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष निर्माण गरी शल्यक्रिया सेवा शुरु गरेको छ ।
वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. प्रचण्ड गौतमका अनुसार अहिलेसम्म दैनिक २० देखि २५ वटा आँखाको विद्यमान शल्यक्रिया कक्ष (अप्रेशन थियटर) बाट शल्यक्रिया गर्ने क्षमता रहेकोमा सो अस्पतालमा अब दुई वटा मोडुलर शल्यक्रिया कक्ष (अप्रेशन थियटर) बाट दैनिक एक सय जनाको शल्यक्रिया गर्न सक्ने गरी क्षमता विस्तार गर्दै स्तरोन्नति गरिएको छ । मोडुलर शल्यक्रिया कक्ष (अप्रेशन थियटर) निर्माण महँगो प्रविधि हो ।

अस्पतालका प्रवन्ध निर्देशक बावुतरुण गौतमले २०७५ साल माघ २७ गते नेपालगन्जको मुख्य केन्द्र सुर्खेतरोड स्थित नेपालगन्ज मेडिकल कलेजको सामुन्ने १५ शैया क्षमताबाट शुरु गरिएको भिजन आँखा अस्पतालमा अहिले करीब ५० लाख रुपैयाँको लागतमा एउटा मोडुलर र अर्को सेमि मोडुलर गरी २ वटा शल्यक्रिया कक्ष (अप्रेशन थियटर) अस्पतालको दोस्रो तल्लामा निर्माण गरिएको जानकारी दिनु भयो ।

भिजन आँखा अस्पतालमा वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. प्रचण्ड गौतम बाहेक एक जना काठमाडौं र एक जना भैरहवा अस्पतालबाट आँखा रोग विशेषज्ञ, २ जना स्थायी रुपमा आँखा रोग विशेषज्ञ, आँखा, प्रयोगशाला, एक्सरे सम्बन्धि ३ जना प्राविधिक लगायत २५ जना कर्मचारी कार्यरत छन् ।

आँखा परीक्षण कार्यक्रम पूर्व प्रेस चौतारी बाँकेले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा विहान शुभकामना आदान प्रदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारीका प्रदेश तथा केन्द्रीय नेताहरु, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *