बाँके,१७ असोज । एकै पटक धेरैजना सरुवा भएर एउटै दरबन्दीमा आएपछि बाँकेका स्वास्थ्य केन्द्रहरुमा समस्या देखिएको छ । सरुवा भएर जो पहिले पुग्छ, उसैले हाजिर गर्छ, ढिला पुग्ने स्वास्थ्यकर्मी हाजिर गर्न पाउँदैनन् । वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी दरबन्दी रिक्त नहुँदै सरुवा भएर तीन जना आइपुगे, हाजिर गर्न पाएनन् ।
बाँकेकै रझेनामा एक जनाको दरबन्दीमा तीन जना आए, पहिले नै पुगेका देवेन्द्र केसीले हाजिरी गरे, पछि पुगेका गणेशबहादुर शाही र नन्दा गिरी हाजिरी हुन पाईनन् ।
एक जनाको दरबन्दी खाली रहेको पुरैनामा पनि तीन जना सरुवा भएर आएपछि सुरुमा आइपुगेकी लक्ष्मी थापा हाजिर भइन् । बसुदेवपुर, कचनापुर लगायतका धेरै स्वास्थ्य केन्द्रमा पनि यस्तै भयो । सरुवा भएर जो पहिले पुग्यो, उ हाजिर भयो, ढिला गरी पुग्ने अन्तै लागे ।
सबै ठाउँमा जो पहिला आइपुगे, उसले हाजिर हुने मौका पायो । ‘पायक’ पर्ने ठाउँ भन्दै भनसुन गरेर ‘मिलाएर’ आएका कर्मचारीहरुले हाजिर गर्न नपाएपछि स्वास्थ्य केन्द्रहरुमा भाँडभैलो सुरु भएको छ ।
‘सरुवामा मन्त्री, सचिव र महानिर्देशकबीच तालमेल नमिल्दा समस्या भयो,’ जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगञ्जका अधिकृत रामबहादुर चन्दले भने, ‘भनसुनका र हचुवाका भरमा सरुवा गर्दा देशभर यस्तै समस्या देखिएको छ ।’
नेकपानिकट स्वास्थ्य कर्मचारी संगठनका नेतासमेत रहेका चन्दले सरुवामा ध्यान नदिँदा समस्या भएको बताए । यसरी सरुवा भएर आएकामध्ये पहिला पुग्नेले हाजिर हुन पायो । हाजिर हुन नपाएकालाई खाली भएका ठाउँमा हाजिर गराइयो, ती ठाउँ पनि सिधिएपछि अहिले हाजिर हुन नपाएकाहरु फिर्ता भइरहेको चन्दले बताए ।
एक हजार सात कर्मचारीहरु एकैपटक सरुवा गर्ने क्रममा ध्यान नदिँदा हाजिर हुन नपाएका कर्मचारी हाजिर गर्न भन्दै जिल्लामा आइरहेको अधिकृत चन्दले बताए ।
पायक पर्ने ठाउँमा भन्दै सरुवा मिलाएर आएकाहरुले त्यो ठाउँमा अर्को पनि आएको छ भन्ने थाहा पाएपछि रातारात पुगेका कर्मचारीहरु पनि जिल्ल बनेर फर्किए ।
सरुवा भएको साथीलाई हाजिर गराउन रातारात मोटरसाइकलमा राखेर लगेको बताउँदै एक जना स्वास्थ्यकर्मीले भने, ‘कार्यालय खुलेको केहीबेरमा हामी पुगेका थियौ, हामी पुग्दा त अर्कैले दश मिनेटअघि नै अर्कोले हाजिरी गरिसक्नु भएछ ।’
कर्मचारीको सरुवा अस्तव्यस्त भएपछि स्वास्थ्य मन्त्रालयले सूचना अधिकृत महेन्द्र श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।समितिले प्रतिवेदन बुझाएपछि कर्मचारी सरुवामा किन यस्तो समस्या देखियो भन्ने वास्तविकता बाहिर आउने सम्बद्धहरु बताउँछन् ।