
नेपालगन्ज, १८ माघ – नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले स्थानीय तहको चुनावको तयारीमा जुट्न आह्वान गरेका छन् । नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालय उद्घाटन गर्दै राठौरले स्थानीय तहको निर्वाचन जेष्ठ महिनामा सम्पन्न गर्ने तयारी रहेकाेमा पार्टीलाई जिताउन टोलटोलमा प्रतिबद्ध भएर कार्यकर्ता लाग्न आग्रह गरेका छन् ।
१४औं महाधिवेशनबाट विधानमा टोल कार्यसमिति गठन गर्ने प्रावधान राखिएको जानकारी गराउँदै सहमहामन्त्री राठाैरले टोल-टोलमा धमाधम कार्यसमिति गठन गर्दै पार्टीको माहोल बनाउन निर्देशन दिएका छन् । वडा कार्यालय स्थापना गरेकोमा खुसी लागेको भन्दै उनले ६ नम्बर वडा आफ्नो वडा समेत भएकाेले संगठन राम्रो होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयाे । “टोल कार्यसमिति गठन गर्दै कसरी काँग्रेसलाई मजबुत गर्न सकिन्छ, त्यतातिर लाग्नुस्,” उहाँले भन्नुभयाे ।
सहमहामन्त्री राठौरले काँग्रेसले नै देशको विकास गरेको जिकिर गर्दै भन्नभयाे- “देशमा जति पनि विकासका भएका छन्, त्यो नेपाली काँग्रेसले गरेको हो । पूर्व पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला यही क्षेत्रबाट चुनाव जितेर जानुभयो, काँग्रेसले सिंक्टा सिंचाई आयाेजना, भेरी डाईभर्सन, एडिबि परियाेजना ल्याएकाे स्मरण गराउँदै विकास काँग्रेसले नै गर्छ भन्नुभयाे ।”
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले टोल समिति विस्तार गर्नतर्फ लाग्न आग्रह गरे । टोल टोलमा काँग्रेसको संगठन बनाउन लागे मात्रै काँग्रेसले सफलता हासिल गर्ने बताउँदै उनले मजबुत काँग्रेस निर्माणमा जुट्न आग्रह गरेका छन् । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता र नगर सभापति प्रशान्त विष्टले वडा नम्बर ६ मा एमालेको किल्ला तोड्दै काँग्रेसलाई जिताउने वातावरण बनाउन प्रत्येक क्रियाशील सदस्य कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु राजकुमार बर्मा, माया पुन, प्रदेश २ ख का सभापति जितेन्द्र हमाल, नेपाल प्रेस युनियन बाँकेका पुर्व उपाध्यक्ष तथा केन्द्रीय पार्षद कुन्तलराज शर्मा लगायत नेता कार्यकर्ताको उपस्थिति रहेकाे थियो । वडा सभापति जमालुद्दिन वागवानको सभापतित्वमा सम्पन्न कार्यक्रममा तरुण दल बाँकेका उपाध्यक्ष मनिषराज रेग्मीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव दिलिप रेग्मीले गरेका थिए भने वडा नं. ६ को पार्टी कार्यालय फुल्टेक्रा चोकमा स्थापना गरिएको वडा उपसभापति भुषण झाले जानकारी गराउनुभयाे ।
