
डुडुवा, १४ माघ – डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आज शुक्रबारसम्म २ हजार २ सय ७० जनालाई न्यानो सामाग्री वितरण गरेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरिरहेको हो ।
गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो । आज शुक्रबार ६७ जना गरि कुल २ हजार २ सय ७० जनालाई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।

गाउँपालिकाले गाउँ समुदायबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८÷०७९ को पहिलोे त्रेमासिक साउनदेखि असोजसम्मको भत्ता वितरण भईरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिकहरुलाई एक एक वटा बलान्केट र च्यवनप्राश वितरण गरि घरैसम्म पुर्याउने गरिएको छ ।

गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो ।

वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय लगायतले सामाग्री हस्तान्तरण गरिरहनु भएको छ । वितरणको कार्यमा गाउँपालिकाका कर्मचारी, शिक्षक लगायतका सहयोगीहरु खटिएका छन् ।

