Monday, April 27सत्यम खबर
Shadow

पाँच मिनेटको घम्साघम्सीपछि हरिबहादुरले मारे आक्रमण गर्ने चितुवा

जमजुङ, ७ भाद्र – लमजुङको बेशीसहर नगरपालिका ९ साम्दी गाउँमा आइतबार बिहानै चितुवा पस्यो। घरघर डुलेको चितुवाले बालबालिका र बाख्रालगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न सक्ने ठानेर गाउँलेहरू डराए ।

तस्बिर : दीपक अधिकारीको फेसबुकबाट


चितुवा भगाउन होहल्ला गरे । तैपनि चितुवाले गाउँ छाडेको रहेनछ । पौने आठ बजेतिर चितुवा स्थानीय हरिबहादुर थापाको घरछेउ आइपुग्यो ।
गाउँमा बाँदर पनि आइरहन्थ्यो ।
‘गाउँलेहरूले हैट‘ हैट‘ गरिरहेका थिए । घरछेउको गल्लीमा केही उफ्रिएजस्तो लाग्यो। बाँदर हो कि भनेर खले गराको डिलबाट गल्लीतिर हेरेकोमात्रै थिएँ, बुर्लुक्क उफ्रेर चितुवा पो ममाथि जाइलाग्यो,’ घाइते थापाले सेतोपाटीसँग भने, ‘पाँच मिनेटजति म र चितुवाबीच घम्साघम्सी भइरह्यो ।’
उनको हातमा हँसिया रहेछ ।
‘कान्लामुनिबाट उफ्रेर आएको चितुवाले मेरो पाखुरामा पहिले चिथो¥यो,’ उनले भने, ‘मेरो हातमा पनि हँसिया थियो। हँसियाले हानें । हँसिया चितुवाको नाकमा लागेछ ।’
त्यसपछि चितुवा र थापा भुइँमा ढलेछन् । चितुवा उठेर फेरि आक्रमण गर्न आएपछि थापाले चितुवाको घाँटीमै हँसियाले हानिदिए ।
‘एकअर्कोले आक्रमण गरिरह्यौं,’ उनले भने, ‘हातको औंला टोकिदिएको छ । खुट्टाका घुँडामा चिथोरेको छ । पाखुरामा गहिरो गरी नङ्ग्राले कोपरिदिएको छ । तैपनि मैले चितुवालाई छाडिनँ, हँसियाले हानेर मारिदिएँ ।’
थापा अहिले लमजुङ सामुदायिक अस्पतालमा उपचाररत छन् । उनलाई थप उपचारका लागि टेकु ल्याउने तयारी गरे पनि कोरोनाका डरले गर्दा ल्याउने कि नल्याउने निर्णयमा आफन्त पुगिसकेका छैनन् ।
६८ वर्षीय थापा नेपाली सेनाका पूर्वलप्टन हुन् ।
मारिएको चितुवालाई जिल्ला वन कार्यालयका कर्मचारीले व्यवस्थापन गर्ने तयारी गरेका छन् ।
बेशीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले घाइते थापाको उपचार भइरहेको जानकारी दिए । ‘उहाँलाई आक्रमण गर्न आएको चितुवालाई उहाँले नै मारिदिनुभएछ । उहाँ घाइते हुनुहुन्छ, उपचार जारी छ,’ उनले भने । सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *