Wednesday, February 4सत्यम खबर
Shadow

प्रहरीकाे ६ महिने कार्य प्रगति विवरण सार्वजनिक, ९ करोड बढीको राजस्व संकलन, बरामद लागूऔषधहरु नष्ट

नेपालगन्ज, ४ माघ – जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार पत्रकार भेटघाट मार्फत चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा गत असारमा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी प्रहरी प्रमुखको रुपमा सरुवा भै आएपछि उनको कार्यकालको यो आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरीले बितेको ६ महिनामा ९ करोड बढीको राजस्व संकलन गरेको सार्वजनिक गरेकाे छ । प्रहरीले भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६ सय ८ रुपैयाँ, सुन तस्कर कारवाहीबाट ३ करोड १३ लाख ९७ हजार ६ सय ७५ रुपैयाँ, ट्राफिक कारवाहीबाट १ करोड १२ लक्ख ३४, हजार ५ सय रुपैयाँ, नदिजन्य पदार्थ उत्खननबाट ३ लाख ३० हजार रुपैयाँ, जुवातास कारवाहीबाट ९ लाख ५१ हजार ६ सय १० रुपैयाँ, काठ तस्कर कारवाहीबाट ६ लाख ५३ हजार ९ सय रुपैयाँ, क्वारेन्टाईन नगराईएका कुखुरा तथा माछामासुबाट कारबाहीबाट  २० लाख रुपैयाँ र फरार अभियुक्तबाट ३७ लाख ९९ हजार ५ सय १४ रुपैयाँ जरीवाना गरी बाँके प्रहरीले यो अवधिमा कुल ९ करोड ३९ लाख ९३ हजार ८ सय ७ रुपैयाँ राजस्व संकलन गरेको जनाएकाे छ ।

गत आर्थिक बर्षको पहिलो ६ महिनामा प्रहरीले २ करोड ७५ लाख ३४ हजार ७ सय ३८ रुपैयाँ राजस्व संकलन गरेको प्रहरीको तथ्यांकले देखाएकाे जनाईएकाे छ ।

प्रहरीले बितेको यो ६ महिनामा विभिन्न मुद्दाका १ सय ३९ जना फरार अभियूक्त पक्राउ गरेको जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार विभिन्न मुद्दाका १ सय ३९ जना फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको कुल ६४ बर्ष १० महिना कैद रहेको र उनीहरुबाट ३७ लाख ९९ हजार ५ सय १४ रुपैयाँ जरिवाना असुल गरेको जनाएका छन् ।

त्यसैगरी, २ सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउनसुगर, ४ किलो ३ सय ७५ ग्राम चरेश, ३ हजार ५ सय ४३ ट्याव्लेट नाईट्राजेपाम ६ हजार मिलिलिटर कोरेक्स, २० ग्राम गाँजा, १ हजार ४ सय ३० ट्याव्लेट ट्रमाडोलसहित ८८ जना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५ लाख ११ हजार नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीले यो ६ महिनाको अवधिमा नेपालगंज विमानस्थलबाट ४ किलो २९.१९ ग्राम सुनसहित दुई जना सुन तस्करलाई पक्राउ गरेको छ । जसको बजार मूल्य ३ करोड १३ लाख ९७ हजार ६ सय ७५ रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, सुन भनि सुन जस्तो नक्कली धातु देखाई १५ लाख रकम लिई ठगी गर्ने दुई व्यक्तिलाई पनि पक्राउ गरी अनुसन्धान भईरहेको जनाईएकाे छ । प्रहरीले भन्सार चोरी पैठारीमा २७ जना तस्कर पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको जनाईएकाे छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा प्रहरीले १ करोड बढी भन्सार राजस्व संकलन गरेको जनाईएको छ ।

२० लाख मूल्य बराबरको भारतबाट अवैध रूपमा भित्र्याईएको बोईलर कुखुरा, चल्ला, मासु, माछा सहित ७ जनालाई पक्राउ गरी क्वारेन्टाईन कार्यालय बुझाएको, बाघको छाला ३, रेड पाण्डाको छाला १, भालुको पित्त ४, हात्तीको दाँत २ सहित १० जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बुझाईएको । साढे ६ लाख मुल्य बराबरको अबैध सालको काठसहित ३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

कटुवा पेस्तोल ३, एयरपेस्तोल १, भरुवा भन्दुक १, सोमा लाग्ने छर्रा ३ सहित ४ जनालाई पक्राउ गरी कारबाही गरिएको र हालसम्म कुल ५ सय ३७ मुद्दामा ६ सय ७४ जनालाई पक्राउ गरी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

हारजित हुने गरी जुवा तास खेल्ने ६१ जना जुवाडेलाई पक्राउ गरी कारबाही गरिएको उनीहरुको साथबाट ९ लाख ५१ ह्जार ६ सय १० रुपैयाँ बरामद गरिएको, नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ टिप्पर, १० टेक्टर नियन्त्रणमा लिई आवश्यक कारबाही लागि सम्बन्धित जिल्ला समन्वय समिति/न.पा./गा.पा.मा पठाई सोबाट ३ लाख ३० हजार बराबरको राजश्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नेपालगन्ज तथा कोहलपुर एरियाका बिभिन्न होटलहरुमा यौन व्यवसाय सञ्चालन गर्ने, आगन्तुहरुलाई दु:ख हैरानी दिने १६ वटा होटल, रेष्टुरामाथि आवश्यक छानविन गरी संलग्न ५ वटा होटल तथा रेष्टुराका सञ्चालकसहित ११ जना महिला र ८ जना पुरुष गरी १९ जनालाई पक्राउ गरी कारबाही गरिएको, ट्राफिक नियम उलंघन गरी सवारी चलाउने २० हजार ५ सय ३५ सवारी साधनलाई कारबाही गरी १ करोड १२ लाख ३४ हजार ५ सय राजश्व संकलन गरिएको, जिल्लाका बिभिन्न स्थानहरुबाट चोरी भएका ३ वटा स्कुटी र ११ वटा मोटरसाईकल बरामद गरी सवारी साधन चोरी कार्यमा संलग्न १७ जनालाई कारबाही गरेको प्रहरीले जनाएकाे छ ।

यसैगरी, प्रहरीले ब्राउन सुगरसहित विभिन्न लागूऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा मंगलवार प्रहरीद्वारा विभिन्न समयमा बरामद गरेको ब्राउन सुगरसहितका विभिन्न लागूऔषधहरु जलाएर नष्ट गरेको हो ।

पत्रकार, जिल्ला प्रशासन कार्यालय, बाँके जिल्ला अदालत, नेपालगन्ज उपमहानगरपालिका लगायतका प्रतिनिधिको रोहवरमा ब्राउन सुगर, चरेस, नाईट्राजेपाम ट्याब्लेट, कोरेक्स लगायतका लागूऔषधहरु जलाएर नष्ट गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

विभिन्न समयमा बरामद भएका लागूऔषधहरु प्रहरीले समय समयमा नष्ट गर्दै आइरहेको छ । पछिल्लो समयमा गत असोज महिनामा प्रहरीले नष्ट गरेको थियो । असोज महिनादेखि हालसम्म बरामद गरिएका विभिन्न लागूऔषध जलाएर नष्ट गरिएको प्रनाउ न्यौपानेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *