Wednesday, February 4सत्यम खबर
Shadow

नेपाल–भारत सीमा महाकाली नदीमा पुल बनाउन सहमत

काठमाण्डौ, २३ पौष भारत सरकार दार्चुलाको नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन सहमत भएको छ । लामो समयदेखि पुल बनाउन आग्रह गरे पनि भारतले मानेको थिएन ।
तर प्रधानमन्त्री देउवाको कुटनीतिक कौशलताका सामु भारत मान्न तयार भएको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार पुल बनाउन अनुमति दिएको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् । ‘यो एउटा महत्त्वपूर्ण कदम हो, यसले हाम्रो मित्रवत् सम्बन्धलाई थप गहिरो बनाउनेछ,’ जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् । महाकालीमा पुल नहुँदा सीमा वारपार गर्न समस्या छ । दार्चुलाका बासिन्दाले नेपालबाट नेपालकै भूमि आउन पनि तुइनको भर पर्नु परिरहेको छ । अब भने नेपाली नागरिकले सहजै भारत आउन जान पाउनेछन् । सास्ती हट्नेछ । पुलको निर्माण आगामी ३ वर्षमा पूरा हुने बताइएको छ ।


पुलबाट भारतको उत्तराखण्ड र नेपालका बासिन्दालाई लाभ पुग्नेछ । दुई देशबीचको व्यापार, भाइचारा सम्बन्ध थप बलियो हुने विश्वास भारतले लिएको छ । पुल निर्माणको कुटनीतिक पहलमा परराष्ट्र मन्त्री नारायण खड्काले समकक्षी एस जयशंकरलाई कन्भिन्स गराएका थिए ।
दुबै परराष्ट्रमन्त्री दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सहमत भएका छन् । खड्का र जयशंकरबीच बिहीबार टेलिफोन वार्ता भएको थियो । उक्त संवादमा दुवै परराष्ट्रहरू विगतमा विकासका कार्यक्रम र कोभिड–१९ विरूद्ध नेपाल र भारतको सहकार्य उल्लेख गरेको भारतीय विदेश मन्त्री जयशंकरले ट्वीटरमा उल्लेख गरेका छन् ।
भारतीय विदेशमन्त्री जयशंकरले अंग्रेजी नयाँ वर्षको शुभकामना दिन छिमेकी मुलुकका परराष्ट्रमन्त्रीसँग टेलिफोन संवाद गरिरहेका छन् । सोही सन्दर्भमा उनले नेपालका परराष्ट्रमन्त्री डा. खड्कासँग टेलिफोन संवाद गरेका थिए ।
संवादमा नेपाल र भारतको सहकार्यका विभिन्न तहमा भएको उपलब्धिबारे दुवै मन्त्रीले चर्चा गरेको जयशंकरले ट्वीटरमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *