Sunday, April 19सत्यम खबर
Shadow

नेवाः देय दबूको केन्द्रीय विधान अधिवेशन भव्य रुपमा हुँदै

नेपालगन्ज, १४ पाैष – नेपालगन्जमा शुक्रवार हुने नेवाः देयः दबूको केन्द्रीय विधान अधिवेशनको अन्तिम तयारी गरिएको छ । पुस १६ गतेका दिन नेपालगन्जमा नेवाः देयः दबू बाँकेको आतिथ्यमा उक्त विधान अधिवेशन हुन लागेको हो ।

नेवारी भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ स्थापित नेवारहरुको साझा छाता संगठन नेवाः देयः दबू बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको संयोजकत्वमा गठित विभिन्न समितिहरुले आ–आफ्ना जिम्मेवारीका कामको अन्तिम तयारी गरिरहेका छन् ।

नेवाः देयः दबू बाँकेका अध्यक्ष तथा स्थानीय नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा यहाँ दिनहुँजसो अधिवेशनको तयारीका बारेमा समितिका संयोजक तथा पदाधिकारीहरुसंग बैठक आयोजना गरेर छलफल गरिएको छ । त्यसैगरि बाँके जिल्लाका नेवारहरुको प्रतिनिधिमूलक संस्था नेवाः देय दबू र नेवाः पुचः बाँके र जिल्लामा छरिएर रहेका नेवारहरुको १४ वटा गुठीका अध्यक्ष तथा प्रतिनिधिहरुसंग पनि विधान अधिवेशनको तयारीको समन्वय, व्यापक छलफल र सहयोग लिने काम भएको नेवाः देयः दबू बाँकेका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि भएका बैठकहरुमा केन्द्रीय कार्यसमितिबाट जिम्मेवारी पाउनु भएका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी पनि सहभागी भई जानकारी लिने र समितिहरुलाई हौसला दिने गर्नु भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । अधिवेशनमा सहभागी हुन नेवाः देयः दबूका केन्द्रीय अध्यक्ष नरेश कुमार ताम्राकारको नेतृत्वमा केन्द्रीय पदाधिकारीहरु विहीवार विहान नेपालगन्ज पुग्दैछन् । शुक्रवार नै अध्यक्ष ताम्राकारको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको बैठक पनि हुँदैछ ।

नेवाः देयः दबू बाँकेका सल्लाहकार पूर्ण लाल चुकेले दिनु भएको जानकारी अनुसार विधान अधिवेशनमा ६८ जिल्लाका करीब ४ सय जना प्रतिनिधिहरु सहभागी हुने अधिवेशनलाई भव्यता र सफलताका साथ सम्पन्न गराउनका लागि गठन गरिएको विभिन्न ११ वटा समितिका संयोजकहरुले आ–आफ्नो समितिले गरेका तयारीका बारेमा जानकारी गराएका छन् ।

झाँकी व्यवस्थापन समितिका संयोजक नरेन्द्र श्रेष्ठले दिनु भएको जानकारी अनुसार मगर, गुरु, थारु, पञ्चे बाजा, शिख समुदाय लगायतको जातिय संस्कृति झल्किने खालका झाँकीहरु उद्घाटन पूर्व आयोजना गरिने विशाल र्यालीमा सहभागी गराइनेछ । साथै भेरी इ.मि. हाईस्कुलबाट पाँच कुमारी समेत सबै जातजातिलाई समेटेर तयार गरिने झाँकीहरु प्रदर्शन गरिने श्रेष्ठले बताउनु भयो ।

काठमाडौंबाट पनि नेवारहरुको अत्यन्तै लोकप्रिय र चर्चित नृत्य लाखे नाच, धिमे बाजागाजा सहित कुमारी नाच, टिपिकल नेवारी नृत्य पनि अधिवेशन पूर्व आयोजना गरिने र्यालीमा प्रदर्शन गरिने कुरा केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले जानकारी दिनु भयो ।

नेवाः देयः दबू बाँकेका सल्लाहकार अशोक कर्माचार्यले दिनु भएको जानकारी अनुसार नेवाः देयः दबू बाँकेका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा ३०१ सदस्यीय मूल समिति, ७१ सदस्यीय सल्लाहकार समिति, २१ सदस्यीय कार्यान्वयन समिति गठन गरिएको छ ।

त्यसैगरि अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा नेवाः पुचः बाँकेका उपाध्यक्ष जितेन्द्र कुमार जोशी समेत रहेको सचिवालय समिति, नेवाः मिसाः दबू, बाँकेकी अध्यक्ष शोभा श्रेष्ठको संयोजकत्वमा सगुन व्यवस्थापन समिति, कोषाध्यक्ष विकल श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, सल्लाहकार मनोज श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, नरेन्द्र श्रेष्ठको संयोजकत्वमा झाँकी व्यवस्थापन समिति, ज्ञानेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, सूर्य कुमार श्रेष्ठको संयोजकत्वमा स्वयम्सेवक व्यवस्थापन समिति, पत्रकार समीरमान श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति, रुपक श्रेष्ठको संयोजकत्वमा फोटो तथा भिडियोग्राफी समिति, दिपेन्द्र जोशीको संयोजकत्वमा आवास व्यवस्थापन समिति र प्रेमलाल श्रेष्ठको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको छ ।

शुक्रवार विहान ८ बजे भानुचोक न्यूरोडमा भेला भई विभिन्न झाँकी सहितको विशाल र्याली धम्बोझी चोक, घरबारी टोल, बागेश्वरी टोल, त्रिवेणी मोड, सदरलाइन, त्रिभुवन चोक, रानी तलाउ, गगनगन्ज हुँदै नगर परिक्रमा गर्दै अधिवेशन स्थल डि.एस.पि. रोड स्थित म्याजस्टिक पार्टी प्यालेशमा पुग्ने कार्यक्रम रहेको आवास संयोजक दिपेन्द्र कुमार जोशीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *