नेपालगन्ज, ५ भाद्र – आईसुलेसन अवधि पूरा गरी बाँकेका विभिन्न आईसुलेसन सेन्टरबाट शुक्रबार ५१ जना डिस्चार्ज भएका छन् ।
विहिबार हरितालिका तीजको बहानामा आईसुलेसन अवधि भन्दा एक दिन अगावै डिस्चार्ज गर्न लागिएको खबर सामाजिक संजालमा बाहिरएपछि चर्को विरोध भएको थियो । सोहीलाई ध्यानमा राखी प्रशासनले उनीहरुलाई विहिबार राती १२ बजे डिस्चार्ज गर्ने आश्वासन दिएको थियो ।
तर, आफूहरु राती १२ बजे डिस्चार्ज नहुने संक्रमितहरुले राखेपछि उनीहरुलाई शुक्रबार बिहानै डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
ब्यापारी नेता कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाल पनि शुक्रवार बिहान डिस्चार्ज भएका छन् । ‘मापदण्ड अनुसार १४ दिन आईसुलेसन अवधि पुरा गरेका ५१ जनालाई थप ७ दिन होम आईसुलेसनमा बस्ने गरि डिस्चार्ज गरिएको छ,’ फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो ।
५१ जना डिस्चार्ज भएमा बाँकेमा कोरोनामुक्त हुनेको संख्या ५ सय ४७ पुगेको छ । बाँकेमा दुई महिला सहित चार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।