
नेपालगन्ज, १ पाैष – नेपालगन्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगन्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले अबको एक साता निरक्षरहरुको तथ्यांक संकलन गरि ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिने बताउनुभयो । साक्षरता कक्षा सञ्चालनका लागि नगरभित्रका वाल विकास शिक्षकलाई परिचालन गरिने भएको छ । वाल विकास शिक्षकहरुलाई उपमहानगरपालिकाले साक्षरता कक्षा सञ्चालनका लागि आवश्यक सहजिकरण गरेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले साक्षरता अभियान निरन्तर सञ्चालनका लागि समेत पहल गर्ने बताउनुभयो ।
नेपालगन्जमा १५ देखि ६० वर्ष उमेर समूहका हाल करिब १५ हजार निरक्षर रहेको अनुमान छ । उनीहरुलाई विशेष साक्षरता कक्षा सञ्चालन गरि सुचक पुरा गरेर साक्षर नगर घोषणा गर्ने तयारी गरिएको सुवेदीले बताउनुभयो ।
उपमहानगरपालिकाका शिक्षा अधिकृत भिमवहादुर बुढाले साक्षर उपमहानगरपालिका घोषणाका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्न लागिएको बताउँदै आम नगरबासी लगायत सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
साक्षर नगरसँगै वाल विवाहमुक्त नगर घोषणा अभियान पनि सँगसँगै लैजान लागिएको उपमहानगरपालिकाले जनाएको छ ।
