काठमाण्डौ, २० मंसिर – नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त हुनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गर्नुभएको हो ।
२०७८ मंसिर १९ को मन्त्री स्तरीय निर्णय अनुसार स्काउटको तदर्थ समिति संयोजकमा नियुक्त हुनुभएका दाहाललाई प्रमुख आयुक्तको जिम्मेवारी समेत दिईएको छ । त्यसैगरी सहसंयोजकमा राजीव खत्री नियुक्त हुनुभएको छ । उहाँलाई स्काउटको तालिम आयुक्तको जिम्मेवारी समेत दिईएको छ ।
त्यसैगरी स्काउटको सदस्यहरुमा बबिता कटुवाल, बिजय किशोर झा, हरिबहादुर श्रेष्ठ, केशव महर्जन, रामचरित्र ठाकुर, सन्तोषकुमार थापा, शिबप्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा, दिपक अर्याल, तिलक खत्री, जुपिटर कुँवर र देउमल सुनार नियुक्त हुनुभएको छ । जसमध्ये कटुवालले संगठन आयुक्तको जिम्मेवारी पाउनु भएको छ ।
नवनियुक्त पदाधिकारीहरुलाई नेपाल स्काउटका प्रमुख तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले सोमबार सपथ खुवाउनु भएको छ । मन्त्रालयको सभाहलमा भएको सपथ ग्रहण कार्यक्रममा मन्त्री अथकले नवनियुक्त पदाधिकारीहरुलाई सपथ खुवाउँदै स्काउटको अन्तर्राष्ट्रिय मुल्य मान्यताको परिधिमा रहि कर्तब्य निर्वाह गर्न निर्देशन समेत दिनु भएको छ ।
स्काउट जस्तो मर्यादित संस्थाको मुल्य मान्यतालाई कायम राख्दै मर्यादिन, अनुशासीत तथा देशभक्त समाज निर्माणका लागि अग्रणी भुमिका खेल्न मन्त्री अथकले नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनुभयो । सबै सामुदायिक विद्यालयमा स्काउट विस्तार गरी प्रत्येक घरमा कम्तिमा एक जना स्काउट उत्पादन गर्न सके युवा पुस्तामा सकारात्मक धारणाको विकास गर्न सकिने भन्दै विश्वास समेत ब्यक्त गर्नुभयो ।
समितिलाई १ वर्षभित्र निर्वाचन गराउने जिम्मेवारी समेत तोकिएको छ ।