Thursday, April 23सत्यम खबर
Shadow

नेपालसम्म भारतले रेल ल्याउँदा व्यवसायीहरुलाई फाईदा

पर्सा, १८ मंसिर – भारतीय रेल्वे कम्पनीबीच सिर्सिया सुक्खा बन्दरगाहमा मालबाहक रेल ल्याउन प्रतिस्पर्धा बढेपछि नेपाली आयातकर्तालाई फाइदा हुन थालेको छ । प्रतिस्पर्धाको कारण तेस्रो मुलुकबाट आयातित मालबस्तु बोकेका कन्टेनर भारतीय बन्दरगाहहरूबाट वीरगन्जसम्म ल्याउने ढुवानी लागत सस्तिँदै गएको छ ।
यसअघि भारतीय सरकारी स्वामित्वको कम्पनी कोंकरको १७ वर्ष पुरानो एकाधिकार तोड्दै यसै वर्षको सेम्टेम्बर १५ मा पहिलोपटक भारतको निजी क्षेत्र हिन्द टर्मिनल प्रालिको रेल्वे र्‍याक वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको थियो । अढाई महिनाको अवधिमा हिन्द टर्मिनलले मात्रै भारतको विभिन्न बन्दरगाहबाट १५ पटक आफ्नो रेल्वे र्‍याकमा नेपाली आयातकर्ताको मालबस्तु बोकेका कन्टेनर वीरगन्जसम्म ल्याएको बन्दरगाहस्थित इन्टर मोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले जानकारी दिए ।


मंगलबार भारतीय निजी क्षेत्रको अर्को कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालिले आफ्नो पहिलो रेल्वे र्‍याक सिर्सिया सुक्खा बन्दरगाहमा ल्याएको थियो । कोलकत्ता बन्दरगाहबाट उक्त र्‍याकमा नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेको मालबस्तु बोकेका कन्टेनर ल्याइएको उनले बताए ।

अब कोंकर, हिन्द टर्मिनल्स र प्रिस्टिन गरी तीनवटा भारतीय कम्पनीले वीरगन्जसम्म रेल ल्याउन थालेपछि त्यसको लाभ नेपाली आयातकर्तालाई नै भई रहेको ज्ञवाली बताउँछन् । ‘स्वभाविक रुपमा सेवा प्रदायक कम्पनीबीचको प्रतिस्पर्धाले सेवाग्राहीलाई जहिले पनि लाभ नै मिल्ने हो,’ उनले भने, ‘अन्य भारतीय निजी क्षेत्रका कम्पनी पनि यो प्रतिस्पर्धामा उत्रन लागेको जानकारी पाएको छु ।’ ५ महिनाअघि नेपाल र भारतका सरकारबीच भएको रेल्वे सर्भिस एग्रिमेन्टपछि भारतीय निजी कम्पनीहरुले पनि नेपालसम्म ढुवानी गर्ने बाटो खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *