नेपालगन्ज, ११ मंसिर – नेपाल आई.टि.एफ तेक्वान्दाे संघ बाँकेले नेपालगन्जमा नगर स्तरीय तेक्वान्दो प्रतियोगिता मंसिर २४ र २५ गते नगरी पाैष २ र ३ गते आयोजना गर्ने जनाएकाे छ ।
आज शुक्रवार नेपालगन्ज रंगशालामा पत्रकार सम्मेलनकाे आयाेजना गरी नेपालगन्ज रंगशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएका छन् । यही पाैष २ र ३ गते नगर स्तरीय तथा बाँके जिल्लाका आई.टि.एफ खेलाडीहरुका लागि प्रतियोगिता हुन लागेको खेलका संयोजक रंजित गिरिले जानकारी बताउनुभयाे ।
गिरिका अनुसार प्रतियोगितमा नगरका २३ वडा र जिल्लाका गरि २ सय ५० जना खेलाडीहरुले सहभागिता जनाउने छन् । साथै अफिसियलहरु पनि प्रतियोगितामा सहभागी हुने छन् ।
जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको बताउँदै प्रतियोगितालाई भव्य बनाउनका लागि नगरका सबै वडालाई सहयोग गर्न आग्रह गर्ने जानकारी गराउनु भयो । प्रतियोगितामा महिला पुरुष तर्फ २० केजी तौल समूहदेखि ७० केजी तौल समूहका खेलाडीहरुले सहभागिता जनाउन सक्ने जानकारी गराएका छन् ।
प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । तर प्रतियोगिता सञ्चालन गर्न आर्थिक अभाव रहेको आयोजकद्वारा जानकारी गराउँदै खेलकाे बृहत् विकासका लागि सबैले यसतर्फ हातेमालाे गर्न आग्रह गरेका छन् ।