नेपालगन्ज, २ भाद्र– बाँकेमा मंगलवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा नेपालगन्ज उपमहानगरपालिकाका १० जना र एकजना खजुराका व्यक्तिमा भाइरस संक्रमण पुष्टि भएको फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।
पछिल्लो २४ घण्टामा पाँच सय ५० नमुनाको परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
ति मध्ये २ जना बर्दिया गुलरिया नगरपालिकाका छन् भने अर्को सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका हुन् । बाँकेमा मंगलवार थप भएका ११ संक्रमितसहित कुल संक्रमितको संख्या ७ सय ४५ पुगेको फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो ।
यसैगरी, नेपालगन्जका १३ जना कैदीबन्दी कोरोनामुक्त भएका छन् । कारागार कार्यालय नेपालगन्जमा रहेका कैदी–बन्दीहरुमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका ती कैदी–बन्दी नै मंगलबार कोरोना जितेर घर फर्किन लागेका छन् ।
बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार कृषि विकास तालिम केन्द्र खजुरामा रहेका २ जना महिलासहित १३ जना डिस्चार्ज भएका छन् ।
योसंगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या ४ सय ६८ पुगेको जनाईएको छ ।