
नेपालगन्ज, १ भाद्र– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आईतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । ती पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ । भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले दावी गरेको छ ।
हाल मूल्य समायोजन पश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रति लिटर ३० रुपैयाँ ७१ पैसा र डिजेलमा प्रति लिटर ३७ रुपैयाँ २७ पैसाले नेपालतर्फ सस्तो रहेको निगमको दावी छ ।